नवलपुर। नेपाल कम्युनिस्ट पार्टी एमालेका निवर्तमान सचिव एवं संविधान सभा सदस्य जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट संन्यास लिएको घोषणा गरेका छन् ।आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका आकांक्षी श्रेष्ठले सर्वसम्मत अध्यक्ष नपाएपछि सक्रिय राजनीति नै परित्याग गरेको घोषणा गरेको जनाएका हुन् ।
श्रेष्ठले मंगलबार साँझ सामाजिक सञ्जालमा अब सक्रिय राजनीतिमा नरही जनताको सेवामा रहने घोषणा गरेका हुन् । ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पूरा गर्ने अभियानमा अविछिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु’, श्रेष्ठले सामाजिक सन्जालमा पोष्ट गरेका छन्।
एमाले नवलपुर अध्यक्षमा निवर्तमान सचिव श्रेष्ठ र निवर्तमान जिल्ला अध्यक्ष रोशनबहादुर गाहामगरले दाबी गरेका थिए। उनीहरूबीच सहमति नभएपछि अध्यक्ष मण्डलको प्रस्तावमा मुक्तिराम पाण्डेलाई बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेपछि उनले यस्तो निर्णय लिएका हुन् ।