एमालेको इतिहासकै शर्मनाक हारः प्रत्यक्षतर्फ सबै पदाधिकारी पराजित


खबरस्टोरी संवाददाता
२४ फाल्गुन २०८२, आईतवार
एमालेको इतिहासकै शर्मनाक हारः प्रत्यक्षतर्फ सबै पदाधिकारी पराजित

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले इतिहासकै शर्मनाक हार ब्यहोरेको छ । 

एमालेबाट प्रत्यक्षतर्फ उठेका अध्यक्षसहित पदाधिकारीमा रहेका उम्मेदवार मात्र नभई अधिकांश उम्मेदवार पराजित भएका छन् ।  

भदौ २३, २४ को जेन्जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गराएको निर्वाचनमा लज्जास्पद हार ब्यहोर्दै तेस्रो शक्तिमा खुम्चिएको छ । भदौको युवा विद्रोहलाई विध्वंसकारीको संज्ञा दिँदै आएको एमालेले यो चुनावलाई पनि देश बनाउनेलाई जिताउने कि देश जलाउनेलाई भन्ने नारा दिएर युवाहरुलाई विध्वंसकारीको भाष्य बनाउन खोजेको थियो । 

एमालेले ०७९ मंसिरमा भएको निर्वाचनमा दोस्रो ठूलो दल बने पनि सामानुपातिकतर्फ सबैभन्दा लोकप्रिय मत प्राप्त गरेको थियो । 

प्रत्यक्षतर्फ उठेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिवहरु शेरधन राई, महेश बस्नेत, राजन भट्टराई, भानुभक्त ढकाल सबैले शर्मनाक हार ब्यहोरेका हुन् । अझ एमाले अध्यक्ष ओलीले बालेन्द्र शाहसँग त झण्डै ५० हजार मतान्तरले हार ब्यहोरेका छन् । ओलीले चुनाव अघि बालेन्द्रको छुद्र टिप्पणी गरेका थिए । 

कसले कोसँग हारे ? 

एमाले अध्यक्ष केपी शर्मा ओली रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहसँग भारी मतले पराजित भए । शाह ६८ हजार ३ सय ४८ मतले विजयी हुँदा ओलीले १८ हजार ७ सय ३४ मत मात्रै प्राप्त गरे । 

यस्तै, एमालेमा शक्तिशाली रहेर हरेक निर्वाचनमा रुपन्देहीबाट जित हासिल गर्दै आएका उपाध्यक्ष विष्णु पौडेलले यसपटक नराम्रोसँग पराजय भोगे । रुपन्देही–२ मा भएको प्रतिस्पर्धामा रास्वपाका सुलभ खरेलले ४३ हजार ६८९ मतले पौडेललाई पराजित गरेका हुन् ।

अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि पराजित भए । लमजुङमा उम्मेदवार रहेका गुरुङलाई रास्वपाका धर्मराज केसीले भारी मतले पराजित गरे । केसी ३३ हजार ८ सय ९८ मतले विजयी हुँदा पीएसले १६ हजार ८ सय ७६ मत मात्रै प्राप्त गरे । 

गुल्मी २ बाट सधैँ विजयी हुँदै आएका एमाले उपाध्यक्ष गोकर्ण विष्टले पनि यसपटक हार व्यहोरे । रास्वपाका उम्मेदवार एवम् पूर्वडीएसपी गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत मात्रै ल्याए ।

एमालेका शक्तिशाली महासचिव शंकर पोख्रेल पनि रास्वपा उम्मेदवारसँग नै फराकिलो मतले पराजित भए । उनलाई रास्वपाका विपिन आचार्यले हराएका हुन् । विपिन ४३ हजार ५ सय ५९ मतले विजयी हुँदा पोखरेलले १५ हजार २ सय ८७ मत मात्रै प्राप्त गरे । 

भोजपुरमा सचिव शेरधन राई आफ्नै पूर्वकार्यकर्ता ध्रुवराज राईसँग पराजित भएका छन् । 

जेन–जी आन्दोलनपछि उनीहरूलाई प्रतिवाद गर्दै पार्टीलाई फेरि मूलधारमा फर्काउन महत्वपूर्ण भूमिका खेलेका एमाले सचिव महेश बस्नेतले पनि भक्तपुर २ मा नराम्रो हार व्यहोरे । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका राजिव खत्रीले ४२ हजार ३३४ मत ल्याएर विजयी हुँदा बस्नेतले १० हजार ९ सय ९६ मत मात्रै प्राप्त गरे । 

त्यस्तै काठमाडौं ४ मा उम्मेदवार रहेका अर्का सचिव डा. राजन भट्टराई रास्वपाका उम्मेदवार पुकार बमसँग २० हजार ३९८ मतले पराजित भए । 

उता तेह्रथुममा अर्का सचिव भानुभक्त ढकाल पनि नेपाली कांग्रेसका सन्तोष सुब्बासँग पराजित भए । सुब्बाले ११ हजार ५ सय ६१ मत ल्याएर विजयी हुँदा ढकालले १० हजार ६ सय ८२ मत पाए । 

भोजपुरमा एमाले कोशी इन्चार्जसमेत रहेका शेरधन दुई महिनाअघिसम्म एमालेमै रहेका ध्रुवराज राईसँग हार ब्यहोरे । शेरधनलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ध्रुवराज राईले हराएका हुन् । श्रम संस्कृतिका ध्रुवराजले १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी हासिल हुँदा शेरधनले १४ हजार ७५० मत प्राप्त गरे ।