Media Network

एमालेको ११ औं महाधिवेशन सुरु हुँदै, अहिलेसम्मकै भब्य मञ्च


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८२,शनिबार

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा महाधिवेशनको उद्घाटन कार्यक्रमका लागि भब्य तयारी गरिएको छ । एमालेको अहिलेसम्मकै सबै भन्दा भब्य मञ्च ब्यवस्थापन गरिएको छ ।

जेनजी आन्दोलनपछिको नयाँ परिस्थितमा गर्न लागिएको महाधिवेशनको सुरक्षाका लागि प्रहरीेले पनि विशेष सतर्कता अपनाएको छ । शनिवार विहान ११ बजे र्याली शुरु गरिने दिउँसो १ बजेदेखि औपचारिक कार्यक्रम शुरु गरिने भए पनि विहानैदेखि नै सुरक्षा सतर्कता अपनाइएको छ । महाधिवेशन स्थल वरपर प्रहरीले कुकुरसहितको सुरक्षा परिचालन गरेको छ । जिल्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आइसकेकोले शनिवार विहानैदेखि महाधिवेशन स्थलमा कार्यकर्ताहरु झुम्मिन थालिसकेका छन् । 

लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर हुन नदिने अडानमा रहेको एमालेको यो महाधिवेशनलाई महत्वपूर्ण रुपमा हेरिएको छ । महाधिवेशन शुरु हुनु भन्दा एक दिनअघि शुक्रबार बसेको एमाले सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वाेच्चतालाई स्वीकार गर्दै १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहने निर्णय अनुमोदन गरेको छ । महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिङ्गो सचिवालय (१९ जना) नै अध्यक्षमण्डलका रूपमा रहने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले खबरस्टोरीलाई जानकारी दिए । 

ज्ञवालीका अनुसार उद्घाटन समारोहका लागि सबै राजनीतिक दलहरुलाई निमन्त्रणा गरिएको छ । विभिन्न देशका कम्युनिस्ट पार्टीका नेताहरुबाट प्राप्त शुभकामना पत्रहरु महाधिवेशनमा पढेर सुनाइने छ । उद्घाटनसत्र भक्तपुरमा गरिए पनि बन्द सत्र भने अन्यत्रै गरिने एमालेले जनाएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद