प्रधानमन्त्री देउवा अनुपस्थित रहनुका साथै अर्थमन्त्री शर्माले जवाफ दिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले छलफलमा भाग लिनकाुे औचित्य नभएको भन्दै बैठक बहिष्कार गरे ।
अर्थमन्त्री शर्माले बोले लगत्तै एमाले सचेतक विशाल भट्टराई ‘यस्ता निकम्मा छलफलमा’ भाग लिनुको औचित्य नहुने भन्दै बहिष्कार गरिने बताए लगत्तै एमाले सांसदहरु बैठक बहिष्कार गर्दै हलबाट बाहिरिएका थिए ।
एमाले सचेतकले बैठक बहिष्कार आह्वान गरेलगत्तै सबै सांसदहरु बाहिरिए पनि एमाले नेता डा. भीम रावलले भने छलफलमा भाग लिए । छलफलमा भाग लिँदै डा. रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा प्रश्न उठाएका थिए ।
रावलले सदनको महत्वपूर्ण बैठकमा प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई गैरजिम्मेवारी भनेका छन् । उनले प्रधानमन्त्री विरामी भएको भए, कुन अस्पतालमा हुनुुहुन्छ भन्नेसमेत प्रश्न गरेका थिए ।
नेता रावलले पटक पटक प्रधानमन्त्रीको अनुपस्थितिकोबारेमा प्रश्न उठाइरहे । प्रधानमन्त्री देउवा जवाफ दिन नआएर होटल र्याडिसनमा गएकोमा संसदले खेद प्रस्ताव परित गर्छ कि गर्दैन भनेर नेता रावलले तेस्रो पटक प्रश्न राखेका थिए ।
प्रधानमन्त्रीको अनुपस्थितिमा विभागीय जिम्मेवारीको जवाफ दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय उपलब्ध गराएपछि प्रधानमन्त्री देउवाको अनुपस्थितिबारेमा रावलसहित नेमकिपा सांसद प्रेम सुवालले पनि प्रश्न उठाएका थिए ।
संसदमा जवाफ दिनुपर्नेमा भागेको सांसद सुवालको भनाइ छ । प्रधानमन्त्री देउवालाई संसदमा नजाउ भनेर विदेशी शक्तिले भनेको हो कि ? भन्नेसमेत सुवालले प्रश्न गरेका थिए ।
आर्थिक वर्ष माथिको विधेयकमा आफ्नो कार्य ब्यवस्थाका कारण जनाउँदै ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी तोकेको पत्र सभामुखले पढेर सुनाएका थिए ।