पार्टी नेतृत्वलाई तथानाम गाली गर्ने, पार्टी अनुशासन नमान्ने अराजक ब्यक्ति भन्दै पार्टी अनुशासन आयोगले नै कारबाहीका लागि केन्द्रीय समिति समक्ष सिफारिस गरेको छ ।
अनुशासन आयोगले नेता भुसालले दिएको अन्तवार्ताको हार्डकपिसमेत उपलब्ध गराएर अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ ।
भुसाललाई फेरि किन कारबाही ?
एमाले नेता भुसालले स्थानीय तहको निर्वाचन लगत्तै हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रमका लागि राजेन्द्र बाँनियालाई दिएको अन्तर्वार्ता नै विवादको चुरो विषय हो ।
टेलिभिजन अन्तर्वार्तामा भुसालले पार्टीभित्र ब्यक्ति प्रवृत्ति हावी भएको भन्दै ओलीको कटु आलोचना गरेका छन् । भुसालले विगतमा पार्टीमा सँगै रहँदा माधव नेपालले पराजयपछि दिएको राजीनामाको प्रशंग उल्लेख गर्दै ओली पनि माधव नेपाल बन्नुपर्ने तर्क गरेका छन् ।
वैशाख ३० को निर्वाचन अन्तर्गत अधिकांश स्थानीय तहमा मेयरले जित्ने उपमेयरले हार्ने अथवा उपमेयरले जितेका ठाउँमा मेयरले हारेका थिए ।
पार्टीभित्र कोतपर्वकाे आशंका
पार्टीमा एउटाले जित्ने अर्कोले हार्ने विषयमा एमालेका कतिपय नेताले पार्टीभित्रै अन्तरघात भनेका छन् ।
यद्यपि निर्वाचनमा पार्टीभित्रैको उम्मेदवारहरुलाई पनि छानिछानी भोट हाल्ने काम भएको कुरालाई भुसालले भने अन्तरघात नभई बिद्रोह भनेका छन् । पार्टी सैद्धान्तिक तथा बैचारिक विचलन भएका कारण यस्तो भएको भन्दै भुसालले पार्टी अध्यक्ष ओलीले कोतपर्व गराउने आशंका पनि गरेका छन् ।
‘हामीले कमिटीलाई हेप्यौं, पार्टीलाई हेप्यौं, जनतालाई हेप्यौं, हामीले धेरै हेप्ने कामहरु गर्यौं । त्यसकारणले उनीहरुको आँखाबाट हेर्दा त्यो बिद्रोह हो । पार्टीको परम्परा, नीति, सिद्धान्त, नैतिकताको हिसाबले हेर्दा विधानका हिसाबले त्यो अन्तरघात हो । तर एउटा डरलाग्दो कुरा के हुन्छ भने यदि हामी यसको सहि मूल्याङ्कन गर्न सकेनौं भने कोतपर्व हुने हो कि ?– भुसालले शंका गरेका छन् ।
कोतपर्वमा राज्यलक्ष्मीले दोषी खोज्ने बाहनामा घटना घटाएको इतिहास स्मरण गराउँदै भुसालले अब एमालेले आफूलाई बोक्सी खोज्नेतिर गगन सिंहको हत्यारा खोज्ने कोतपर्व गराउने बाटो लिन्छ कि अर्को बाटो लिन्छ, समिक्षा गर्छ ? भन्ने हेर्न बाँकी रहेका पनि उल्लेख गरेका छन् ।
भुसालले सांगठनिक रुपले आफूहरु पार्टीमा अन्यौलग्रस्त अवस्थामा रहेको गुनासो पनि गरेका छन् ।
ओलीले राजीनामा दिनुपर्ने तर्क
एमाले नेता भुसालले पार्टीमा भएको पराजयलाई लिएर अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने दाबी गरेका छन् ।
झण्डै ४५ मिनेटको टेलिभिजन अन्तर्वातामा भुसालले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै पार्टीले भोगेको पराजयका कारण अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने र पार्टीलाई जोगाउनुपर्ने बताएका छन् ।
तर एमालेको बलियो रहेको ओली पक्ष भने भुसालको तर्कसँग सहमत छैनन् । बरु ओलीइतर पक्षले असहयोग गरेका कारण तथा पार्टी फुटाउनदेखि सरकार ढाल्न भूमिका खेलेको कारण पार्टी कमजोर बनेको दाबी गरेका छन् ।
एमालेविरुद्ध गठबन्धन गरेर सिध्याउन खोज्दा पनि पार्टी अध्यक्ष ओलीकै कारण पार्टीलाई बचाउन सकेको तर्क ओली पक्षधर नेताहरुको भनाइ छ । एमालेले निर्वाचनका समिक्षा तथा आगामी निर्वाचनमा बाम गठबन्धनको पहल गर्ने सम्बन्धमा पनि चासो नदेखाएको भुसाल पक्षधरको आरोप छ ।
सार्वजनिक रुपमा नै पार्टी र पार्टी नेतृत्वलाई नै सिध्याउने गरी अन्तर्वार्ता दिएको भन्दै भुसाललाई कारबाही गर्नै लागेकाबेला पार्टीमा अर्को खतरा हुने भन्दै अन्तिम समयमा कारबाही रोकिएको छ । अनुशासन आयोगले नै भुसाललाई कारबाही गर्ने तयारी गरेको थियो ।
भुसालको अभिब्यक्तिले पार्टीमा पुनः गम्भीर सैद्धान्तिक छलफलको माग गरेको छ । तर, सैद्धान्तिक बैचारिक छलफल भन्दा अल्पमतलाई पेल्न सकिने धेयले तुरुन्त कारबाही गर्ने पक्षमा ओली रहेको स्रोतको भनाई छ ।