Media Network

'एमसीसी कार्यान्वयन गर्ने भए अनुमोदन गरौँ, नभए फिर्ता पठाऔँ'


खबरस्टोरी संवाददाता

२८ माघ २०७८,शुक्रबार

काठमाडौं। कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालले कमजोरी गरेको बताएका छन् । परियोजना सञ्चालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उनको भनाइ छ ।

कार्यान्वयन गर्ने नै भए अनुमोदन गर्नुपर्ने र नगर्ने नभए छिटो फिर्ता पठाउनुपर्ने उनको धारणा छ । संसदबाट अनुमोदन गर्ने भनेर परियोजना अड्काइराख्दा विभिन्न प्रश्न उठ्नु स्वाभाविक भएको गुरुङको भनाइ छ ।

‘सम्झौतामा हस्ताक्षर गरेको पाँच वर्ष भइसक्यो । कार्यान्वयन पत्रमा हस्ताक्षर गरेको तीन वर्ष सुरु भइसक्यो । तर, कार्यान्वयन नगरेपछि त प्रश्न उठ्दैन र ? त्यसैले यहाँ हाम्रो धेरै कमजोरी भए’, कांग्रेस उपसभापति गुरुङले न्युज कारखानासँग भने, ‘कार्यान्वन गर्ने भए अनुमोदन गरौँ । नगर्ने भए छिटो फिर्ता पठाऔँ ।’

परियोजनामा जनता समाजवादी पार्टीेदेखि कांग्रेस, एमाले र माओवादीलगायत पार्टी मुछिएकाले छिटो अनुमोदन गर्ने कि फिर्ता पठाउने भन्नेमा निर्णय लिनुपर्नेमा उनले जोड दिए । तर, अमेरिकी प्रशासनले छिटो अनुमोदन गर्न भनेर दबाब दिनुलाई भने ‘अस्वाभाविक सक्रियता’ भएको टिप्पणी गरेका छन् । 

अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गर्दै एमसीसी परियोजना छिटो अनुमोदन गर्न दबाब दिएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद