बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहितका नेताहरुले पार्टी नेतृत्वको आलोचना गरिरहेका छन् । यसअघि नै एमसीसी पास गर्न सहमत भएका प्रचण्ड बिना संशोधन एमसीसी संसदबाट पास गर्नै नहुने पक्षमा अधिकांश नेताहरुको अडानले पछि हटेका थिए ।
गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मत दिने पार्टीबाटै औपचारिक निर्णय गराएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धन टुटाउन तस्सिए । सत्ता गठबन्धन नै टुट्ने निश्चित भएपछि प्रचण्डले सदनमा पास गर्ने बेलामा बहिष्कार गरेर एमसीसीलाई सघाउने पक्षमा थिए ।
एमसीसी संसदमा टेबल भइसकेपछि यसलाई विपक्षमा मतदान गरेर विफल पार्छ, बैठक बहिष्कार गर्ने र यथास्थितिमा अनुमोदन गर्न सहयोग पुर्याउँछ भन्ने गलत प्रचार गरिएको भनेरसमेत नेता श्रेष्ठले सामाजिक सञ्जालमै लेखेका थिए । तर १२ बुँदै ‘ब्याख्यात्मक टिप्पणी’ अघि सारेर प्रचण्डले पार्टीबाटै एमसीसी अनुमोदन गराएपछि नेता श्रेष्ठ रुष्ट भएका हुन् ।
ब्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइएको भन्दै त्यो दिनलाई आम देशभक्त नेपालीले कालोदिनका रुपमा लिने भन्दै श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा अर्को स्टाटस लेखे ।
माओवादी बरिष्ठ नेता श्रेष्ठले सार्वजनिक रुपमै बिरोध गरेपछि सोमवार पत्रकार सम्मेलन गरी प्रचण्डले नेता श्रेष्ठलाई पार्टी छाड्न समेत नरोकिने बताएका थिए । बामदेव गौतमको विगतको उदाहरण दिँदै प्रचण्डले नेता श्रेष्ठलाई ब्यङग्य गरेपछि उनी प्रचण्डसँगै झनै बिच्किएका छन् । प्रचण्डको यो अभिब्यक्तिबाट नारायणकाजी मात्र नभई उनी पक्षका नेताहरु प्रचण्डप्रति आक्रोशित बनेका छन् । उनी पक्षका नेताहरुले पार्टीबाट अलग हुनुपर्ने दबाद दिन थालेका छन् ।
बिवाद मत्थर गर्न फागुन २० गते बोलाइएको केन्द्रीय समिति बैठकमा नेता श्रेष्ठले एमसीसीका विपक्षमा रहने भनी राष्ट्रिय सम्मेलनले गरेको निर्णयलाई नै मुख्यरुपमा उठाउने तयारी गरेपछि प्रचण्ड मंगलबार दिउँसो उनलाई फकाउन श्रेष्ठ निवास हात्तीबन नै पुगेका थिए ।
मन्त्री परिषद्मा प्रचण्डको एकल निर्णयदेखि लिएर आफ्नो समुहप्रतिको बैरभाव, हालको एमसीसी अनुमोदनको विषयसहित अध्यक्ष प्रचण्डको सार्वजनिक अभिव्यक्तिले नेता श्रेष्ठ झनै चिढिएका छन् ।
नेता श्रेष्ठ पक्षधर मात्र नभई अन्य केन्द्रीय सदस्यहरु पनि पार्टी अध्यक्षप्रति रुष्ट बनेका छन् । माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानले शीर्ष नेतृत्वले विदेशीको तलुवा चाटेको भनेर समेत फेसबुकमा लेखेका छन् ।