काठमाडौं । पछिल्लो केहि दिनयता नेपाली राजनितीमा एक खालको तरगं पैदा भएको छ ।मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कै कारण सत्ता गठबन्धन नै संकटमा परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा पनि एमसीसी पारित गर्ने अडानमा छन् । भने सत्ताधारी अन्य दलहरु एमसीसीलाई सदनमा टेबल गर्न नदिने अड्कि थापेर बसेका छन् ।एमसीसी कै विषयलाई लिएर सत्ता गठबन्धनको बैठक दिनहुँ जसो बसेपनि निष्कर्षविहिन बनेको छ । देउवालाई ८ फागुनसम्म कुर्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आग्रह समेत गरेका छन् ।
यो बीचमा हिजो मात्रै ५ फागुनको साँझ पत्नी आरजु देउवासहित प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेर केपी शर्मा ओलीलाई समेत भेट्न पुगे । ६ फागुनको विहान सत्ता गठबन्धनको बैठक बस्यो । एमसीसी टेबल गरिएन र ८ फागुनसम्मका लागि संसद बैठक स्थगित भयो ।
एमसीसीको समयावधिका कारण जसरी पनि टुंगोमा पुर्याउनुपर्ने दबाबमा देउवा देखिन्छन् ।जसका लागि देउवासामु एमसीसी पारित गर्नका लागि या त सत्ता गठबन्धनलाई मनाउनुपर्ने या त ओलीसँग मिलेर कठोर कदम चाल्नुपर्ने दुई मात्र विकल्प देखिन्छ ।यता माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन तोडेर एमसीसीको विपक्षमा जानुपरेमा सभामुख अग्निप्रसाद सापकोटाको पद धरापमा पर्न सक्ने बुझाईमा रहेको प्रचण्ड निकट स्रोतले बताँउछ । पक्षमा जादाँ सडकमा उत्रिएको आम जनता तथा कार्यकर्ताको माग सम्बोधन गर्ने कि गठबन्धनलाई नै चुनौती दिदै विपक्षमा जाने अन्यौलपुर्ण यतिबेलाको अवस्थामा सत्ताधारी दललाई एमसीसी निल्नु न ओकल्नु बनेको छ ।
प्रधानमन्त्री देउवा गठबन्धनको विकल्पमा एमाले अध्यक्ष ओलीलाई रिझाउन सक्रिय देखिन्छन् ,तर ओलीले पनि आफ्नो पुरानो अडानका मौका छोप्दै प्रधानमन्त्री देउवालाई च्याखे थापेका छन् ।जसमा ओलीले सभामुख सापकोटालाई हटाउन चाहेका छन् भने माधवकुमार नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस संसदबाट गराउन खोजेका छन् ।
उता प्रचण्ड भने पार्टीभित्र एमसीसीको विपक्षमा आएको चर्को दबाब र आम कार्यकर्ताको सडक संघर्षलाई संम्बोधन नगर्दा त्यसले थप समस्या निम्त्याउने भएकाले गठबन्धन पनि जोगिराख्ने गरि सेफ ल्यान्डिङ गर्न बाटो खोजिरहेका देखिन्छन् ।यद्यपी आगामी संसद बैठकमा एमसीसी टेबुल हुन्छ या हुदैन, त्यतिबेलासम्ममा गठबन्धनको सरकार रहन्छ या रहदैन त्यो भने हेर्न बाँकि नै छ ।