Media Network

एमसीसी टेबुल गर्नबाट किन पछि हटे देउवा ?


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७८,बुधबार

काठमाडौं। सत्ता साझेदार दलहरूकै बीचमा सहमति नजुटेपछि  सरकारले आज अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्न सकेन । अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) १६ फागुनभित्र अनुमोदन गरिसक्न अमेरिकाले दबाब दिइरहेका बेला बुधबारको बैठकमा सो प्रस्ताव पेस गर्ने तयारी गरिएको थियो । तर, पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमै सरकारले आज सदनमा एमसीसी प्रस्ताव पेश भने गरेन ।

संसदीय दलको बैठकमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेर प्रचण्ड देउवालाई भेट्न पुगेका थिए । भेटमा दुई शीर्ष नेताबीच संसद बैठकमा आज एमसीसी टेबुल नगर्ने सहमति जुटेको हो । भोलि गठबन्धनको निर्णायक बैठक बसेर यस बिषयमा निर्णय लिने सहमति भएको छ । माओवादीले यथास्थितिमा एमसीसी सदनबाट अनुमोदन गर्न नसकिने र जबरजस्ती पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएपछि देउवा पछि हटेका हुन् ।

एमसीसी अनुमोदनका लागि आफुसँगै हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका प्रचण्ड यसकै विपक्षमा उभिँदा आफुमाथि अन्तराष्ट्रिय दबाब आउन सक्ने भन्दै देउवा पछि हटेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले अमेरिकाको दबाब आउनुका साथै, राजनीतिक गठबन्धन टुट्ने खतराले पनि देउवा पछि हटेको हुन सक्ने बताए । उनले भने, ‘अन्तराष्ट्रिय दबाब, राजनीतिक छबी बिग्रने डर, प्रचण्डको दोहोरो चरित्रलगायत कारणले देउवा पछि हटेका हुन् ।’ प्रचण्ड एमसीसीको समर्थनमा रहे पनि पार्टीभित्रका अन्य नेता कार्यकर्ताको दबाबले अप्ठयारोमा परेको उनको बुझाइ छ । नेता कार्यकर्ताहरूको इच्छाविपरित हिड्न खोजे प्रचण्डलाई नेतृत्वबाटै हट्ने डर पनि छ । अप्ठयारो हुने देखेपछि प्रचण्डले देउवालाई एमसीसी टेबुल नगर्न आग्रह गरेको उनको भनाइ छ । गठबन्धनमा सहमति नजुट्ने थाहा हुँदाहुँदै पनि देउवाले भोलि छलफल गरेर निर्णय गर्ने भनेको र प्रचण्डबाट देउवालाई धोका भइसकेको पनि बिश्लेषक जीवनको बुझाइ छ । 

सभापति शेरबहादुर देउवा पक्षधर नेता मीन विश्वकर्माले पनि माओवादीसँग सहमति नजुटेकाले एमसीसी टेबुल गर्नबाट देउवा पछि हटेको बताए । बिहान देउवा र प्रचण्डबीचको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेकोले एमसीसीलाई टेबुल गर्न पुर्नविचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद