Media Network

एमसीसीबारे संसदको कार्यसूची छल्न अर्थमन्त्रीले काठमाडौं छाडे


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची छल्न काठमाडौंबाट बाहिरिएका छन् । 

यसअघि आइतबार संसदमा अर्थमन्त्रीले एमसीसी अनुदान प्रस्ताव पेश गर्ने कार्यसूची बनेपछि उनी प्रतिनिधिसभा बैठकमै अनुपस्थित रहेका थिए । 

प्रतिनिधिसभाको आजको बैठकमा पनि अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची संसद सचिवालयले मंगलबार नै सार्वजनिक गरिसकेको छ । 

संसद सचिवालयले मन्त्री शर्मा एमसीसी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची सार्वजनिक भएपछि उनी काठमाडौंबाट बाहिरिएका हुन् । आफ्नै पार्टीका अर्थमन्त्रीले प्रस्ताव राख्ने कार्यसूची बनाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका सभामुख अग्निप्रसाद सापकोटालाई भेट गरेका थिए ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित दुई कार्यसूची मध्ये पहिलो कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको छ । 

अर्थमन्त्री शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

यसअघि आइतबार पनि अर्थमन्त्रीले एमसीसी छल्न प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी पेश गरेका थिए । 

एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि काठमाडौंबाट बाहिरिएका अर्थमन्त्री शर्मा आजको पर्वत उद्योग वाणिज्य संघको साधरणसभामा सहभागी हुन भन्दै मंगलबार नै कुश्मा पुगेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद