Media Network

एमसीसी नेपालको हितमा छ, पास हुन्छ : प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता

५ कार्तिक २०७८,शुक्रबार

धनगढी ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् । 

कैलालीको धनगढीमा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए । ‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ, विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन । यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ, तर त्यो पनि चाहिएन भन्छन् । हद भइसक्यो,’ देउवाको आक्रोश थियो ।

त्यस्तै नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले त्यसको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिइएको बताए । ‘हाम्रो पार्टीभित्र निर्वाचन आयोग जस्तै निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो,’ देउवाले भने, ‘उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ ।’

अर्ली इलेक्सनबारे भइरहेको बहसबारे पत्रकारहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री देउवाले त्यसबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताए । बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेर फर्किएका देउवा शुक्रबार कैलालीको टीकापुर जाँदैछन् । त्यहाँ बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर शुक्रबार नै उनी काठमाडौं फर्किने कार्यसूची छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद