Media Network

एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको महसचिव पोखरेलको आरोप


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

बुटवल। एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार बुटवलमा सम्बाेधन गर्दै नेकपा एमालेका महसचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उनको भनाइ छ । उनले एमसीसी संसदमा टेबुल गर्ने भनेर भित्र सहमति गर्ने तर, सडकमा गाईजात्रा देखाएर माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र प्रर्दशन गरेको बताए ।

'सरकारको दृष्टिकोण एउटै हुनुपर्छ, एउटै दृष्टिकोण नहुने हो भने सरकारमा बस्ने नैतिकता रहँदैन,' उनले भने । महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला एमसीसीका अहिलेका प्रावधानमा सम्झौता गरिएको र देउवा नेतृत्वको माओवादी सम्मिलित सरकारले सम्झौतामा हस्ताक्षर गरेको उनको भनाइ छ । आफैँले गरेको सम्झौतालाई लिएर जनतामा भ्रम सिर्जन गर्ने र सडकमा गाईजात्रा देखाउने काम भएको पोखरेलले बताए ।

संसद नचलेसम्म एमाले संसदमा हुने कुनै पनि काम कारवाहीमा सहभागी नहुने भन्दै उनले संसदमा छलफल गर्ने वातावरण तयार भएपछि एमालेले एमसीसीप्रतिको आफ्नो धारणा राख्ने बताए । 'हाम्रा मुद्दा सम्बाेधन भएपछि संसदका हरेक विषयमा दृष्टिकोण दिन्छौं,' पोखरेलले भने ।

एमाले कारवाही गरेका १४ जना गैरसांसदलाई राखेर संसद चल्न नसक्ने पनि उनले बताए । उनले सभामुखले गल्ती नसच्याएसम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने बताए । एमाले अब निर्वाचनतर्फ केन्द्रित भएको भन्दै जनताको विश्वास जित्ने बलियो शक्तिको रुपमा एमाले स्थापित भएको उनले दावी गरे ।  

दुई दिनसम्म चल्ने प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता सहभागी छन् । सहभागीलाई विभिन्न विषयमा केन्द्रित रहेर समूहगत छलफल गराइने एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद