काठमाडौं । सत्ता गठबन्धनमा रहेको नेकपा मसालसहित ६ कम्युनिस्ट पार्टीले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन केन्द्रित रहेर प्रदर्शन गर्ने भएका छन् ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहन विक्रम सिंह नेतृत्वको मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी केन्द्र (समाजवादी)ले शुक्रबार एमसीसीविरुद्धमा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन केन्द्रित प्रदर्शन गर्न लागेका हुन् ।
शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले एमसीसी टेबल गर्ने प्रयत्न गरेपछि ६ कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गर्न लागेका हुन् ।
६ कम्युनिस्ट पार्टी र दुई मोर्चाकातर्फबाट विहीबार संयुक्त विज्ञप्ति जारी गर्दै शुक्रबार काठमाडौं उपत्यकाबाहिरका जिल्लामा देशैभर संयुक्त विरोध प्रदर्शन गर्न लागेको जनाएका छन् ।
यसअघि पनि प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने अन्तिम कसरत भएपछि मसालबाहेकका ५ कम्युनिस्ट पार्टी फागुन ४ गते नेपाल बन्दको आयोजना गरेका थिए ।
एमसीसीविरुद्धमा संसद बाहिरका दलहरुसँग कार्यगत एकता गर्दै एमसीसीविरुद्ध आन्दोलन थालेको सरकार समर्थित मसाल र राष्ट्रिय जनमोर्चाले फागुन ४ को नेपाल बन्दको कार्यक्रममा भने सहभागिता जनाएको थिएन ।