शनिबार माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिचमा भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालेका थिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा एसपीपीका बारेमा छलफल गर्ने जनाउ दिएपछि गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नआएको भन्दै विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका थिए ।
सत्तारुढ दलकै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण र एसपीपीबारे जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।