Media Network

फुट्यो जसपाः बाबुरामको पक्षमा खुले महेन्द्र यादव


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी औपचारिक रुपमै विभाजन भएको छ । केन्द्रीय समितिका औपचारिक र छुट्टाछुट्टै बैठक आयोजना गरेसँगै पार्टी विभाजनको चरणमा पुगेको हो ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरको केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ । यस अघि पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले पनि बैठक वीरगञ्जमा केन्द्रीय समिति बैठक डाकेको छ ।  

 भट्टराई पक्षीय बैठकमा कार्यकारिणी सदस्यहरु हिसिला यमी, गंगानारायण श्रेष्ठ, डा. बाबुराम भट्टराई, रमेश यादव र महिन्द्र राय यादव मात्रै पुगेका छन्। अर्कातिर बाबुराम पक्षमा खुलेका भनिएका राजकिशोर यादव बैठकमा सहभागी भएका छैनन्। 

  रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा आइपुगेका छैनन् । बैठकमा यादव पक्षका केही नेता तथा कार्यकर्ताबाहेक अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु छन् । जसपामा ४ सय ९९ सदस्यीय केन्द्रिय समिति छ। यससँगै डा. भट्टराई जसपामा प्रष्ट अल्पमतमा परेका छन्। जसपाको ३३ सस्दयीय कार्यकारिणी समितिमध्ये अहिलेसम्म बाबुरामको बैठकमा ८ जना मात्रै उपस्थित भएका छन्।  अध्यक्ष यादव बैठकको तयारीका लागि वीरजञ्ज पुगेका छन् ।  भोलिदेखि वीरगञ्जमा यादव पक्षको केन्द्रीय समिति बैठक बस्दैछ ।  केन्द्रीय समितिमा नरहेका नेता तथा कार्यकर्ताहरु पनि वीरगञ्ज पुग्न लागेका छन् । उपेन्द्र यादव पक्षले विज्ञप्ति जारी गरेर काठमाडौमा जसपाको कुनै पनि बैठक नरहेको बताएको छ ।  

केही समयदेखि बाबुराम र उपेन्द्रबीच सम्बन्ध बिग्रेको थियो। उपेन्द्रले विधानअनुसार काम नगरेको र एकलौटी ढंगले अघि बढेको बाबुराम पक्षको आरोप छ भने बाबुरामले  पार्टी एकतापछि पनि पार्टीका लागि उल्लेख्य योगदान गर्न नसकेको, विभाजनको विउ रोपेको, गुटबन्दी गरेको यादव पक्षको आरोप छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद