काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएको छ । माघ २ गते निर्वाचन आयोगले पार्टी नेतृत्वको असहमतिका बाबजुद ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुको माग अनुसार गगन थापा र विश्वप्रकाश शर्माको आह्वान भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ समितिलार्य निर्वाचन आयोगले मान्यता दिएको हो ।
आयोगको यो निर्णयसँगै सबै भन्दा पुरानो पार्टी कांग्रेसको नेतृत्वमा गगन थापाले बैधानिकता पाएका हुन् ।
२७–३० पुसमा काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । पहिलो पटक ५० वर्ष भन्दा कम उमेरको ब्यक्तिले कांग्रेसको नेतृत्व सम्हाल्ने अवसर पाएको हो ।
निर्वाचन आयोगले दलको विधानअनुसार महाधिवेशन सर्वोच्च निकाय भएकाले त्यसले गरेको निर्णयलाई बैधानिकता दिएको हो ।
देउवा समूह सडकदेखि सर्वोच्चसम्म
कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ । माघ ३ गते शनिबार बसेको देउवा पक्षका नेताहरुको बैठकले आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो । पुस ४ गते आइतबार नै सर्वोच्चमा रिट हाल्ने तयारी गरेको यो समूहले कार्यवाहक सभापति भनिएका पूर्णबहादुर खत्रीलाई कानूनी प्रक्रिया अघि बढाउने अख्तियारी दिइएको छ ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको कार्यसूची रहेकोले त्यसअघि नै सर्वोच्चबाट अन्तरिम आदेश आउने अपेक्षा देउवा समूहले गरेको छ । तर आइतबार रिट दिए पनि सोमबार सार्वजनिक विदा रहेको छ । त्यसैले माघ ६ गतेको उम्मेदवार मनोनयनअघि अदालतको स्टे अर्डर आउने सम्भावना न्यून छ ।
गगन थापा नेतृत्वको कार्यसमितिलाई नेपाली कांग्रेसको आधिकारिता दिएपछि देउवा समूह सडक आन्दोलनमै उत्रिएको छ । माघ ३ गते बेलुका देउवा समूहका युवा विद्यार्थीहरुले काठमाडौंमा मशाल जुलुस समेत निकालेका थिए ।
पार्टीको बैधानिक समितिको मान्यता पाएको गगन समूहलाई सानेपास्थित पार्टी कार्यलयमा समेत छिर्न नदिने भन्दै देउवा समूहले बाहुबल प्रयोग गरेपछि गगन समूहको बैठक पार्टी कार्यालय बाहिर पार्टी प्यालेसमा बस्दै आएको छ ।