गण पुरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
गण पुरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
काठमाडौं । गणपुरक संख्या नपुगेपछि बजेटमाथि छलफलका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ । 

उक्त सभामा गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा पुन: स्थगित भएको घमेषणा गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी दिए । 

तोकिएको समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे । 

नेपाली कांग्रेसले भने सदनमा बजेट कार्यक्रम सच्याउने भन्ने प्रतिबद्धता आए मात्रै बजेट समर्थन गर्ने निर्णय गरेको छ । त्यस्तै, कांग्रेस दलका प्रवक्ता डिल्लीराज पन्तले सदनमा बजेट सच्याउने प्रतिबद्दता आए समर्थन गरेर जाने निर्णय भएको बताए । कांग्रेस संसदीय दलको बैठक आज बिहान बसेको थियो ।