Media Network

गठबन्धन बनाएर चुनावमा जाने कांग्रेसको निर्णय


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएरै जाने निर्णय गरेको छ । गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको हो । 

स्थानीय तहमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. रामशरण महतले जानकारी दिए । 

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस बिजयी हुने बलियो स्थिति र आधार बनेको अवस्थामा अझै सबल र ब्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय बैठकले गरेको महतले बताए । 

नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए । 

कांग्रेसले स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेख भएको प्रावधान र प्रक्रियाअनुसार अघि बढाउने जनाएको छ । 

बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार समिति गठन गर्ने पनि निर्णय गरेको छ । 

गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचनबारे विभिन्न निर्णय गर्दै मंगलबार सकिएको छ । बैठकले पार्टीको अनुशासन र संसदीय समिति भने पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि मात्रै बनाइने प्रवक्ता महतले जानकारी दिए । 

खड्का निर्वाचन परिचालन समिति संयोजक

नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन समिति संयोजक तोकेको छ । 

खड्काको संयाजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिएको प्रवक्ता महतले जानकारी दिए ।

प्रवक्ता महतलाई भने निर्वाचन प्रचारप्रसार समिति संयोजक तोकिएको छ । 

कांग्रेस बैठकका निर्णयहरू ः

१. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २४ (२) बमोजिम २०७८ फाल्गुण ३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गरिन्छ ।      

२. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने ।

३. उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्ने । 

४. केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्ने । 

५. संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न लिएको पहलकदमी एवं कांग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भुमिका, नेपालको वैदेशिक सम्बन्धका सन्दर्भमा सन्तुलित र परिपक्व भुमिका, संयमित र समन्वयकारी राजनैतिक व्यवहार तथा नेपाली कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा निर्वाह गरेको जिम्मेवार, जनमुखी र प्रभावकारी भुमिकाका कारण नेपाली काँग्रेस आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रव्यापी रूपमा बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको छ । यसैक्रममा पार्टीले संचालन गरेको स्थानीय तह निर्वाचन केन्द्रीत ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले नेपाली कांग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजवुत बनाउँदै लगेको छ । यो परिस्थितिमा अझै थप उत्साह साथ निर्वाचन अभियानमा जुट्न नेपाली कांग्रेस सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपिल गर्दछ ।

६. स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाइनेछ ।

७. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ६९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम २३(५) बमोजिम प्रदेश सभाका सदस्य एवं प्रदेश मन्त्री परिषद्का सदस्यले सम्बन्धित प्रदेश सभा संसदीय दल मार्फत आफूले प्राप्त गर्ने मासिक पारिश्रमिकको बीस प्रतिशत रकम नियम २३(६)(क) बमोजिम केन्द्रमा बुझाउनु पर्ने व्यवस्था रहेकोमा, २०७९ वैशाख १ गतेदेखि उक्त रकम प्रदेश सभा संसदीय दलले पार्टीको सम्बन्धित प्रदेश कार्यसमितिको खातामा जम्मा हुने गरी पठाउनेछ । २०७८ चैत्र मसान्तसम्मको केन्द्रमा पठाउन बाँकी रहेको त्यस्तो रकम सम्बन्धित प्रदेश सभा संसदीय दललाई यही चैत्र मसान्त भित्र अनिवार्य केन्द्रमा पठाउन निर्देशन गर्ने ।

८. नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५(४)(२) र (३) बमोजिम प्रत्येक नयाँ क्रियाशील सदस्यले क्रियाशील सदस्यता शुल्क वापत बुझाउनु पर्ने रकम रु. ३०० (तीन सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. ४० (चालीस) र प्रत्येक क्रियाशील सदस्यले क्रियाशील सदस्यता नविकरण वापत बुझाउनु पर्ने नविकरण शुल्क रु. २०० (दुई सय) मध्ये प्रदेश कार्यसमितिलाई प्राप्त हुने रु. १० (दश) को दरले पार्टीको चौधौं महाधिवेशनमा प्रदेश कार्यसमितिको क्षेत्रभित्र कायम रहेका नयाँ क्रियाशील सदस्य र नविकरण गरेका क्रियाशील सदस्यको संख्या बमोजिम हुने नयाँ सदस्यता शुल्क र नविकरण शुल्क वापतको जम्मा रकम सम्बन्धित प्रदेश कार्यसमितिलाई केन्द्रबाट पठाउने ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद