वैठकमा नेपाली कांग्रेसलाई तीन वटा महानगरपालिकामा मेयरसहित तथा अन्य तीन वटा महानगरमा गठबन्धनका सहयात्री दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई एक एक स्थानमा मेयरसहित सिट भागबण्डाको प्रस्ताव माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
प्रचण्डको उक्त प्रस्तावमा नेपाली कांग्रेसले स्वीकार गर्न नसकेपछि सोही विषयमा छलफल भई मंगलबार पुनः बस्ने गरी बैठक सकिएको वैठकपछि नेताहरुले जानकारी दिए । यद्यपि नेताहरुले बैठकमा सकारात्मक छलफल भएको बताएका छन् । कांग्रेसले ६ वटै महानगरमा आफ्नो दाबी गरेको छ भने ११ उपमहानगरहरुमध्ये ६ वटा उपमहानगरमा पनि दाबी छाडेको छैन ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की सहभागी थिए ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङ बैठकमा सहभागी थिए भने एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, वेदुराम भुसाल, विजय पौडेल तथा जसपाबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राष्ट्रिय जनमोर्चाका हिमाल पुरीलगायत सहभागी थिए ।
यसअघि सोमवार बिहान पनि गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकमा पनि महानगर र उपमहानगरमा सिट भागबण्डाबारे छलफल भएको थियो । विहानको छलफल सकारात्मक भएको र बेलुका निश्कर्षमा पुगिने माओवादी अध्यक्ष प्रचण्डले सोमबार दिउँसो नै पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए ।