Media Network

गठबन्धनबारे कांग्रेसको औपचारिक निर्णय आज


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मंगलबार औपचारिक निर्णय गर्ने भएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा निर्वाचनमा सत्ता गठबन्धनसँग मिलेर जाने कि एक्लै लड्ने भन्नेबारेमा छलफल चलिरहेको छ । 

गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले मंगलबारको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

 कांग्रेस सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरु सत्ता गठबन्धनसँगै मिलेर चुनावमा जानुपर्ने पक्षमा देखिएका छन् । कांग्रेस संस्थापन पक्षमा गठबन्धनमा मिलेर जानेमा एक मत देखिए पनि शेखर कोइरालासहित संस्थापन इतर पक्षका नेताहरु कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा देखिएका छन् । 

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको समयमा गठबन्धन गरेरै निर्वाचनमा जानुपर्ने अडानमा प्रष्ट देखिएका छन् । 

कांग्रेसको घर घर जाउँ, कांग्रेस जिताउँ अभियानमा पुगेर आएका केन्द्रीय प्रतिनिधिहरुको धारणा सुनिसकेपछि देउवाले गठबन्धन मिलेरै चुनावमा जानुपर्ने मत राखेका हुन् । 

यस भन्दा अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै साथीहरू पराजित भएको भन्दै सत्तामा भएको बेला फेरि पनि त्यही किसिमको नतिजा बेहोर्न नपरोस् भन्नका लागि पनि गठबन्धन आवश्यक रहेको देउवाको तर्क छ । 

संस्थापन इतर पक्षका नेता रामचन्द्र पौडेल पनि गठबन्धन मिलेरै चुनावमा जाँदा राष्ट्रियसभामा प्रगति भएको भन्दै मिलेरै जानुपर्ने पक्षमा देखिएका छन् । कांग्रेसका पुराना नेताहरु अधिकांश गठबन्धनकै पक्षमा देखिएपछि कांग्रेस पाँच दलीय सत्ता गठबन्धनसँगै मिलेर चुनाव लड्ने योजनामा अघि बढेको छ । 

पार्टीको आवश्यकताका आधारमा स्थानीय तहहरुमा गठबन्धन गर्ने निश्कर्ष नजिक कांग्रेस पुगेको छ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद