Media Network

गठबन्धनको आलोपालो सहमतिः अब फेरि कांग्रेसको मुख्यमन्त्री !


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौं । सत्ता गठबन्धन दलहरुहरुको आलोपालो मन्त्री साटफेर गर्ने पूर्वसहमतिको अर्को खेल शुरु भएको छ । बाग्मति प्रदेशमा आधा आधा समय मुख्यमन्त्री बन्ने नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बीच पूर्व सहमति भएको भन्दै मुख्यमन्त्री फेर्ने तयारी गरिएको छ । 

बाग्मती प्रदेश प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेलाई बनाउने र उनी मुख्यमन्त्री नियुक्त भएका मितिले प्रदेशसभाको बाँकी अवधिमध्ये आधा अवधि पहिलो चरणमा मुख्यमन्त्री रहने र दोस्रो आधा अवधि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने सत्ता साझेदारी दलबीच सहमति भएको थियो । 

पूर्वसहमतिअनुसार नै मुख्यमन्त्री हटाउन भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । यद्यपि नयाँ सरकार बनाउनका लागि हस्ताक्षर आवश्यक पर्ने भएकाले सहमतिअनुसार नै हस्ताक्षर संकलन गरिएको गठबन्धनको दाबी छ । 

नयाँ सरकार गठनका लागि हस्ताक्षर संकलन गरिएको र एक साताभित्रै सरकार परिवर्तन हुने प्रदेशसभा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले बताए । चुनाव घोषणा हुनुअघि नै मुख्यमन्त्री पाण्डेलाई हटाउन हस्ताक्षर संकलन गरिएको छ । 

मुख्यमन्त्री पाण्डेलाई हटाउन बाग्मती प्रदेशका १०७ सांसदमध्ये कांग्रेसका २२ र माओवादीका २२ जनाले हस्ताक्षर गरेका छन् । एमाले विभाजनपछि एमाले नेतृत्वको सरकार ढालेर गठबन्धनले आलोपालो सत्ताको रसस्वादन गर्ने सहमति गरी गत वर्ष कात्तिक ११ गते पाण्डेलाई मुख्यमन्त्री बनाएका थिए । गठबन्धनको आलोपालो सरकार बनाउने घिनलाग्दो कार्यको आम नागरिकस्तरमा आलोचना भएको छ । 

११० सांसद रहेको बाग्मती प्रदेशसभामा हाल १ सय ७ सांसद छन् । तीमध्ये माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एकसहित ५९ जना सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद