काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा परैबाट माला मिल्काएपछि विवादमा तानिएका छन् ।
मंगलबार सप्तरी सदरमुका राजविराज आउँदा सन रुफसहितको गाडीबाटै हात हल्लाउँदै गजेन्द्रनाराणको शालिकतिर माला फ्याँकेपछि उनी विवादमा तानिएका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता तान्न तराई–मधेशमा दोस्रो पटक छिरेका उनी दक्षिण भारतीय फिल्मको शैलीमा देखिएका थिए ।
बालेन्द्र आउने भएपछि मंगलबार बिहानैदेखि सडकमा सयौँ सर्वसाधारण र रास्वपा कार्यकर्ता जम्मा भएका थिए। जब उनी राजविराजस्थित गजेन्द्र चोक पुगे तब उनी त्यहाँ ओर्लिने अपेक्षा थियो । तर उनी सन रुफवाला गाडीबाट झरेनन् । दक्षिण भारतीय हिरोको शैली पछ्याउँदै उनी हात हल्लाउँदै, हात मिलाउँदै गाडीमा अघि बढिरहे ।
गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा माल्यार्पणका लागि उनलाई मालासमेत उपलब्ध गराइएको थियो। तर उनी गाडीबाट नझरी सन रुफमै निस्किएर माला शालिकतिर मिल्काएका थिए । उनले गजेन्द्रनारायणको शालिकमा माला फ्याँकेपछि विभिन्न पक्षबाट आलोचना भइरहँदा रास्वपा कार्यकर्ताहरुले भने माला शालिकतर्फ नभई कार्यकर्ताको भिँडमा फ्याँकेको भन्दै बचाउ गरेका छन् ।