आफूहरुले मेयर पद नपाएको भन्दै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका नगर कमिटीका सभापतिसहित ४८ जनाले शुक्रबार सामुहिक राजीनामा दिएका छन् ।
गठबन्धनले गरेको भागबण्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहको नेतृत्वमा ४८ जनाले सामुहिक राजीनामा दिएका हुन् ।
शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले नेपाली काँग्रेस छाडेको घोषणा गरेका छन । नेपाली कांग्रेस परित्याग गरी साहले स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने घोषणा पनि गरेका छन् ।
नेपाली काँग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घन्टे अल्टिमेटम दिए पनि वेवास्ता गरिएपछि कठोर कदम चाल्न बाध्य भएको साहले बताए । साहसँगै सबै नगर वडा सभापतिहरूले पनि कांग्रेस छाडेका छन् ।