जनयुद्ध दिवसः कतै चुनावी अभियान, कतै विचार गोष्ठी


खबरस्टोरी संवाददाता
१ फाल्गुन २०८२, शुक्रबार
जनयुद्ध दिवसः कतै चुनावी अभियान, कतै विचार गोष्ठी

काठमाडौं । तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने निर्णय गरेपनि माओवादी घटकहरुले नै फागुन १ लाई भब्य दिवसका रुपमा मनाउन छाडेका छन् । 

जेनजी आन्दोलनपछि माधव नेपाल लगायतका दल तथा समूहसँग एकतागरि नेपाली कम्युनिस्ट पार्टी बनेपछि प्रचण्डले पनि ठूलो उत्सवका रुपमा नलिएका हुन् । यद्यपी आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफू रुकुम पूर्वबाट उम्मेदवार बनेकाले आफ्नै निर्वाचन क्षेत्र पुगेर भोट माग्दै प्रचण्डले जनयुद्ध दिवस मनाएका हुन् ।

भूमे–२  खाबाङ बगरमा आयोजित ३० औं जनयुद्ध दिवस विशेष समारोहमा विभिन्न व्यक्तिहरूलाई सम्मानित पनि गरिएको थियो । पम्फा भुसालसँग रुकुम पुगेका प्रचण्डले युद्धको बेलाको आफ्नो सेल्टर रहेको घरको पनि भ्र्रमण गरेका थिए । नेकपा केन्द्र्रीय समितिले भने औपचारिक रुपमा ३१ औं जनयुद्ध दिवस मनाएन । अन्य माओवादी घटकहरुले पनि विभिन्न तरिकाले दिवस मनाएका छन् । विप्लवले पनि आगामी निर्वाचनमा भाग लिएकाले चुनावी अभियानकै रुपमा जनयुद्ध दिवस मनाएका छन् । 

यस्तै, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले इच्छुक प्रतिष्ठानमा के्रन्द्र्रीय समितिको आयोजनामा जनयुद्ध दिवस मनाएको थियो । लगत्तै विद्यार्थीको एकताको राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । कीर्तिपुरमा आयोजना गरिएको राष्ट्रिय सम्मेलन निर्वाचन आचारसंहिताको कारण जनाउँदै प्रशासनले रोक लगाएपछि  इच्छुक प्रतिष्ठान घट्टे कुलोमा सम्मेलन गरेको हो । 

यस्तै, धर्मेन्द्र बास्तोल नेतृत्वको नेकपा बहुमतले पनि छुट्टै कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र संघर्षको सुरूवात गरेको अवसरमा फागुन १ गते ’जनयुद्ध दिवस’ मनाउँदै आएको छ ।