काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेकै अवस्थामा चुनावमा जान नहुने बताएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले अहिलेकै विषम परिस्थितिमा र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा राखेका हुन् ।
यतिबेलाको आम जनभावना चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने रहेको उनले औंल्याएका छन् । उनको यस्तो अभिब्यक्ति चुनाव नहुने हो कि भनेर राजनीति तरंगित भएको छ । शाहले के कारणले चुनावमा जान नहुने भनी अभिब्यक्ति दिए भन्ने कुरा अर्थपूर्ण राजनीतिक विश्लेषकहरुको भनाई छ ।
मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने पनि उनले बताएका छन् ।
मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै पूर्वराजा शाहले कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नुपर्ने र राख्नुपर्ने तर जुनै व्यवस्थाको पनि नराम्रो र खराब पक्षहरूलाई फ्याँक्नुपर्ने बताए ।
देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने उनको जिकिर छ ।
प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भए पनि वर्तमान अवस्थामा चुनावको औचित्यमाथि उनले प्रश्न उठाएका छन् ।