जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने आफू निकट केन्द्रीय समितिको बैठक बैठक मंगलबार नै काठमाडौंमा बोलाएका छन् । मंगलबार र बुधबार (२८, २९ असार) मा भट्टराई समूहको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंको जडीबुटीमा बस्दै छ । सोही बैठकबाट नयाँ पार्टीको घोषणा गरिनेछ ।
उपेन्द्रको बैठकमा जानबाट रोक्न भट्टराईले एक दिनअघि नै केन्द्रीय समिति बैठक काठमाडौंमा डाकेका छन् । बाबुराम र उपेन्द्र समूहको छुटाछुटै केन्द्रीय समितिको बैठक बसेसँगै पार्टी स्पष्ट रूपमा विभाजित हुने भएको हो ।
भट्टराई र यादवबीच विवाद चर्किँदै गएपछि दुवैले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् ।
जसपाबाट यसअघि नै महन्थ ठाकुर, राजेन्द्र महतो लगायतको समूह अलग भई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन् ।
उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाबुरामले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् ।
उता, उपेन्द्र समूहको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार र बिहीबार (२९, ३० असार)मा वीरगन्जमा बस्दै छ ।
बाबुराम समूहको बैठकमा संघीय परिषद् अध्यक्ष बाबुरामले समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ ।
बाबुराम पक्षमा यसअघि नयाँ शक्ति पार्टीमा रहेका नेता कार्यकर्ता आउने अपेक्षा गरिएको छ ।
पछिल्लो समय बाबुराम पक्षमा देखिएका महेन्द्र राय यादव लगायतका केही नेताहरुले बाबुराम पक्षलाई लोसपासँग एकताको पहल गरिरहेको यादव निकट एक नेताले बताए ।
बाबुराम समूहले बैठक बोलाएपछि उपेन्द्र समूहले अनधिकृत व्यक्तिले बोलाएको बैठकमा नजान आग्रह गर्दै विज्ञप्ति जारी गरेकोे छ ।
जसपामा उपेन्द्र, बाबुराम र वरिष्ठ नेता अशोक राई रहनेगरी तीन सदस्यीय हेटक्वार्टर गठन गरी हरेक निर्णय तीन सदस्यको सहमतिमा हुनुपर्ने बनाइएको थियो । तर यादवले भट्टराईलाई वेवास्ता गर्दै निर्णय गर्ने गरेको आरोप लगाउँदै आएका छन् । राई समूह भने उपेन्द्र पक्षमै देखिएको छ ।