काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सत्तारुढ गठबन्धन सहमत भएका छन् ।
शनिवार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जेठभित्र चुनाव सम्पन्न गर्न सहमति जुटेको हो ।
सत्ता गठबन्धन दलहरुले असोजपछि स्थानीय तहको निर्वाचन गर्न आग्रह गरेपछि पार्टीभित्र र बाहिरबाट वैशाखमै निर्वाचन गर्न प्रधानमन्त्री देउवालाई दबाब परेको थियो ।
जेठ ५ मा स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि समाप्त हुने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने निर्वाचन ऐनमा उल्लेख छ ।
संविधानमा भने ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उल्लेख भएकाले सत्ता गठबन्धन दलहरु जेठमा निर्वाचन टार्ने योजनामा थिए ।
गठबन्धनको बैठकमा संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।