मंगलबार घोषणा गरिएको ७५ सदस्यीय केन्द्रीय समितिको संयोजक गौतम छन् भने दोस्रो नम्बरमा बामदेवपत्नी थापा रहेकी छन् । बामदेवको पार्टीको केन्द्रीय समन्वय समितिको दोस्रो नम्बरमा श्रीमति रहँदा पाँचौं नम्बरमा उनकै छोरा हरिषदेव गौतम रहेका छन् ।
गौतमले आफ्नो ठेगाना ललितपुर लेखेका छन् भने आफ्नो पत्नी थापा र छोराको ठेगाना भने बर्दिया उल्लेख गरेका छन् । एमालेको समानुपातिक सांसद बामदेव पत्नी तुल्सालाई यसअघि पनि बामदेवको समूहमा नाम रहेको थियो । तर एमाले विभाजनको बेला एमालेमै रहेर सांसद पद जोगाएकी थिइन् ।
लामो समय महिला संघको राजनीतिमा रहेकी गौतम नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत हुन् । बामदेव गौतमले २०५४ सालमा एमाले फुटाएर माले गठन गरेका थिए । पार्टी फुटाएर निर्वाचनमा भाग लिएपछि एक सिट पनि जित्न नसकेपछि पुनः गौतम एमालेमै फर्किएका थिए । पार्टी विभाजनका बेला कम्युनिस्ट नेताहरुले बामदेवकै उदाहरण दिने गरेका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेकाले अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तिथिमिति नजिकिएको छ । गठबन्धन दलले कात्तिक अन्तिम वा मंसिरको पहिलो हप्तामा संघ र प्रदेशको निर्वाचन गर्ने तयारी गरेको छ ।
बामदेवको पार्टीमा सात उपाध्यक्ष
गौतम नेतृत्वको पार्टीमा सात जना उपाध्यक्ष रहने भएका छन् । पार्टीमा सात जना उपाध्यक्ष रहने र सबै उपाध्यक्षलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइने मंगलबार पार्टी घोषणाका क्रममा बताइए पनि पदाधिकारी चयन भइसकेका छैनन् ।
गौतमको पार्टीमा महासचिव, उपमहासचिव र सचिव भने एक एक जना रहने गौतमले बताए ।
केन्द्रीय समितिमा रंगिविरंगी अनुहार
गौतम नेतृत्व नवगठित पार्टीको केन्द्रीय समन्वय समितिमा विभिन्न रंगिबिरंगी अनुहार देखिएका छन् ।
तत्कालिन नेकपा माओवादी पार्टी छाडेर दर्जनौं पार्टी बदलेका युवराज सफलदेखि निलकण्ठ पौडेल पनि यो पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।
युवराज पछिल्लो समय समाजवादी केन्द्र र पौडेल आम नेपाली पार्टीमा थिए ।
यस्तै, समाजवादी पार्टी नेपालका एक्लो सदस्य विष्णुराज अर्याल, आधुनिक नेपाल समाजवादीका कृष्णगोपाल बञ्जारा, नेकपा राष्ट्रवादीका मीननाथ देवकोटा पनि गौतमको पार्टीको केन्द्रीय समितिमा अटाएका छन् ।
गौतमले साविक एमालेमा रहँदा आफूलाई साथ दिएका जिल्ला स्तरीय कार्यकर्ता सबैलाई पार्टीको केन्द्रीय सदस्य बनाएका छन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको अप्रत्याशित नतिजापछि स्वतन्त्रका लहर चलिरहेकाबेला केहीदिनअघि मात्रै रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । रविको पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छैन ।