कांग्रेस असन्तुष्ट समूहले गर्यो– विशेष महाधिवेशन घोषणा


खबरस्टोरी संवाददाता
२३ पुष २०८२, बुधबार
कांग्रेस असन्तुष्ट समूहले गर्यो– विशेष महाधिवेशन घोषणा

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट समूहले पार्टी निर्णयलाई वेवास्ता गर्दै विशेष महाधिवेशनको आह्वान गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

उक्त पत्रकार सम्मेलनमा केन्द्रीय नेताहरु जगदिश नरसिंह केसी, अजयबाबु शिबाकोटी, प्रतिमा गौतम, प्रकाश स्नेही, देवराज चालिसे लगायतका नेताहरुको सहभागिता थियो । तर विशेष महाधिवेशन बोलाउने तयारी गरेका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भने उक्त कार्यक्रममा देखिएनन् । 

पत्रकार सम्मेलनमा उनीहरुले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणासँगै तयारीका लागि विभिन्न १८ वटा समितिहरु बनाइएको पनि घोषणा गरे । 

गत असोज २८ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझाएको समूहले फागुन २१ को निर्वाचनअघि नै विशेष महाधिवेशन बोलाउन माग गरेको थियो । तर पुस २६ मा १५ औं महाधिवेशन बोलाएपछि उनीहरु मत्थर भएका थिए । तर निर्धारित मितिमा नियमित महाधिवेशन पनि नगरेपछि उनीहरुले विशेष महाधिवेशन आह्वान गरेका हुन् । 

बुधबार विशेष महाधिवेशनको घोषणा गर्नुअघि नै उक्त समूहले सामाजिक सञ्जालहरुमा ‘पुस २८ गते विशेष महाधिवेशनमा जाऔं’ भन्ने प्रचारसामग्रीहरु छ्याप्छ्याप्ती बनाइसकेका थिए । 

महामन्त्रीद्वय गगन र विश्वकै सल्लाहमा हस्ताक्षर संकलनदेखि विशेष महाधिवेशनको आह्वान गरिएको हो । 

यसअघि गगन विश्वले पूर्व निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि महाधिवेशन स्थगनको घोषणा गर्दै विशेष महाधिवेशनका लागि तयारी रहन अपिल गरेका थिए । सो अनुसार नै उनीहरुले भृकुटीमण्डपको हल बुक गरेका थिए । 

गगन विश्व समूह एकतर्फी रुपमा विशेष महाधिवेशनमा जाने तयारी गरेपछि तत्कालै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिएको थियो । उक्त निर्णयप्रति गगन विश्वसहित ५ जनाले फरक मत राखेका थिए । असन्तुष्ट समूहले आह्वान गरेको विशेष महाधिवेशनको अपनत्व गगन विश्वले लिएका छन् । 

केन्द्रीय कार्यालयको अपिल–कसैले बोलाउँदैमा नआउनु 

असन्तुष्ट समूहले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस केन्द्रीय कार्यालय पार्टी कार्याकर्ताहरुको ध्यानाकर्षण गराएको छ । केन्द्रीय कार्यालयका महासचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै ब्यक्तिले बेलाएको अधिवेशन तथा कुनै पनि कार्यक्रममा नआउनु भनी अपिल गरेका छन् । 

बुधबार विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरिरहँदा महामन्त्री गगन थापा भने नक्सालको एक होटेलमा बुद्धिजीवी र केही नेताहरूसँग छलफल गरिरहेका थिए ।