Media Network

कांग्रेस बैठकमा देउवाको ब्रिफिङः गठबन्धनबिना चुनाव जित्न चुनौति छ


खबरस्टोरी संवाददाता

११ चैत्र २०७८,शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा गठबन्धन बनाएरै जानुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा देउवाले गठबन्धन बिना चुनाव जित्न नसकिने तर्क पेश गरे । उनले गठबन्धनको बिरोध गर्दै आएका नेताहरुलाई गठबन्धनबिना चुनाव जितेर देखाउन चुनौति रहेको बताए । देशैभरीको सूचना आफूसँग रहेको भन्दै देउवाले गठबन्धनको बिरोध गर्दा भोलिको नतिजाको ख्याल गर्नुपर्ने भन्दै नेताहरुलाई सचेत गराए । 

नेपाली कांग्रेसले गत फागुन २९ गतेदेखि चुनावलाई लक्षित गर्दै ‘घर घर जाउँ, कांग्रेसलाई जिताउँ’ एक महिने अभियान चलाइरहेको छ । उक्त अभियानमा सबै जिल्लामा केन्द्रीय सदस्यहरुलाई प्रतिनिधि तोकेर पठाइएको छ । 

अभियानमा सहभागी नेताहरु बैठकका लागि राजधानी फर्किएका थिए । बैठकमा जिल्ला पुगेर फर्किएका केही नेताहरुले जिल्लामा पार्टीको अवस्थाबारेमा पनि ब्रिफिङ गरेका थिए । उनीहरुले एमाले फुटे पनि बलियो अवस्थामा रहेको बताएका छन् । 

शुक्रबार धारणा राखेका २१ केन्द्रीय सदस्यमध्ये अधिकांशले गठबन्धनबाट चुनाव लडेर झनै घाटा हुने धारणा राखेका छन् । कम्युनिस्ट पार्टीहरु टुक्रा टुक्रा भएको अहिलेको अवस्थामा कांग्रेसलाई एक्लै चुनाव लड्दा फाइदा हुने भनाई अधिकांश नेता थियो । 

शुक्रबारको बैठकमा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका सभापतिले गठबन्धन आवश्यक नभएको बताए । केही नेताहरुले भने मध्यमार्गी धारणा राखेका छन् ।  

वैठकमा कांग्रेसका केही नेताहरुले सत्ता गठबन्धन मात्र नभई अन्यसँग पनि तालमेलको ढोका खुला राख्न सुझाएका छन् । एमालेले तालमेल गर्न सकिने संकेत गरेकाले एमालेसँग पनि केही ठाउँमा गठबन्धन गर्न सकिने पनि सुझाएका छन् । माओवादीविरुद्ध केही नेताहरुले निकै आक्रमक धारणा पनि राखेका छन् । माओवादीको विश्वास नै गर्न नसकिने उनीहरुको तर्क थियो । 

गठबन्धन बनाएर जाने किन एक्लै लड्ने भन्नेबारेमा बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुको मिश्रित धारणा आएको कांग्रेस प्रवक्ता प्रकाशसरण महतले जानकारी दिए । उनले अहिलेको गठबन्धन सत्ता गठबन्धन मात्रै भएको तर सत्ता गठबन्धनसँगै मिलेर जाँदा उपयुक्त हुने भए पनि गठबन्धन गरेरै जाने भन्ने नभएको बताए । 

खासगरी अमेरिकी सहयोग परियोजना एमसीसीबारे जनतामा भएको भ्रम चिर्न भन्दै थालेको चुनाव केन्द्रित अभियानपछि मात्रै चुनावी गठबन्धनबारे निर्णय गरिने कांग्रेस नेताहरुले बताउँदै आएका छन् ।  




Share:
Reaction :
ताजा समाचार
खेलकुद