पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुुनेछ ।
सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले भने शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि जिल्ला सभापतिहरुलाई आफ्नो निवासमा डाकेका छन् ।
कांग्रेस नेता पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन जिल्ला सभापतिहरूलाई बोहोराटारस्थित आफ्नो निवासमा बोलाएका हुन् ।
जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने छन् ।