काठमाडाैँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा १ हजार ३६५ मत खसेको छ ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३.३० बजेसम्म १ हजार ३६५ मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा.सुरेश आचार्यले जानकारी दिए । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा २ स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ५१३ र भृकुटीमण्डपका २ स्थान (प्रदर्शनी हल र प्रांगण)मा ८५२ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका २ स्थानमा २ हजार १०० र १ हजार ३०० तथा राष्ट्रिसभागृहमा १ हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।