Media Network

कांग्रेस महाधिवेशनः उम्मेदवारी मनोनयन प्रक्रिया सुरु


भीष्मराज ओझा, सिबी अधिकारी

२५ मंसिर २०७८,शनिबार

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ । 

आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ । 

अहिलेसम्म केन्द्रीय सदस्यका उम्मेदवारले मात्रै दर्ता फाराम लगेको छन् । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचन कार्यक्रम अन्तर्गत सम्पूर्ण तयारी पुरा भएको बताए । 

संयोजक घिमिरेले निर्वाचनको समयतालिकाभित्रै सम्पूर्ण प्रक्रिया सकिने विश्वास व्यक्त गरे । उनका अनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ । उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ ।

मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रिय सभा गृहमा हुनेछ । पहिलो चरणमा खसेको मतको ५१ प्रतिशत नआए भोलीपल्टै पुनः मतदान हुनेछ । सभापति बाहेकका उम्मेदवारको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना हुने संयोजक घिमिरेले जनाएका छन् । यस पटक विभिन्न क्लस्टरका २९ वटा मतपत्र रहेको छ ।

मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ । कांग्रेसमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

त्यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी ९, दलित ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १ अल्पसङ्ख्यकबाट १, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो । गतराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ ।   

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद