Media Network

कांग्रेस महाधिवेशनः यस्तो छ निर्वाचन प्रक्रिया


खबरस्टोरी संवाददाता

२५ मंसिर २०७८,शनिबार

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । 

महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । 

आज बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ । 

कांग्रेसमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था रहेको छ ।

त्यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी ९, दलित ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १ अल्पसङ्ख्यकबाट १, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो । गतराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ ।

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद