Media Network

कांग्रेस १४औँ महाधिवेशनः प्रधानमन्त्री देउवाद्वारा मतदान


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७८,सोमबार

काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन् । 

सभापतिका प्रत्यासी उनले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

केहीबेरअघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् भने अन्य प्रत्यासी डा.शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थलमै छन् । 


यसैगरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा.रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरिसकेका छन् । मतदानका लागि प्रतिनिधि लामबद्ध रहेका छन् । कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । 

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्रांगण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । भृकुटीमण्डपका दुई स्थानमा २ हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा १ हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । अहिलेसम्म तीनवटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । 

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान सुुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । 

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि 'फुलबडी' स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ । 

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी-जनजाति १५, खस-आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद