Media Network

कांग्रेस राजनीतितर्फ पाइला चालेका पत्रकारको कथा


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन यहि मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन अन्तर्गत वडादेखि पालिका अधिवेशन हुँदै कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आउँदा ब्यवसायिक रुपमा पत्रकारिता गर्दै आएका दर्जनौं पत्रकारहरु पार्टी राजनीतिमा पाइला चालिरहेका छन् ।  

नेपाल पत्रकार महासंघमा दुई दुई पटक केन्द्रीय अध्यक्षको उम्मेदवार बनेका पोषण केसी यतिबेला पार्टी राजनीतिमा सक्रिय भएका छन् । 

उनी तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको पालामा पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत भएका थिए । 

जारी महाधिवेशन अन्तर्गत पत्रकार केसी बाँकेको क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । केसी कांग्रेस नेता रामचन्द्र पौडेल र बीपीपुत्र डा.सशांक कोइरालाको फेरो समातेर क्षेत्रीय सभापति बनेका छन् । 

पत्रकार गोविन्द परियार प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार छन् । देउवाका प्रेस सल्लाहकार रहेका परियार काठमाडौं क्षेत्र नम्बर ६ बाट कांग्रेसको १४ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । तनहुँ स्थायी घर भएका परियार यसअघि २०७४ सालमा देउवा चौंथो पटक प्रधानमन्त्री हुँदा सञ्चारविज्ञ थिए ।

यस्तै, एमाले नेता गोकुल बाँस्कोटा सञ्चारमन्त्री भएकैबेला सेक्युरिटी प्रेस अनियमितताको अडियो काण्ड र माओवादी नेता कृष्णबहादुर महराको महिला प्रकरणबारेमा समाचार प्रकाशित गरेर चर्चामा आएका पत्रकार अजयबाबु शिवाकोटी पनि कांग्रेसको सक्रिय राजनीतिमा पाइला चालेका छन् । 

गृहजिल्ला दोलखाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका शिवाकोटीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठ्ने घोषणा नै गरेका छन् । 

यसैगरी बरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले पनि कांग्रेसको केन्द्रीय राजनीतिमा अघि बढ्ने संकेत दिएका छन् । कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत रहेका वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । 

अर्का पत्रकार हुन्, इलामका माधव चम्लागाईं, जो कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलामको जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भई पार्टी राजनीतिमा बामे सर्दैछन् । 

उनी अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा आरोहण गर्न पाउने अधिकारलाई विश्वमा स्थापित गर्न सफल भएका थिए । 

डेढ दशकदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका पत्रकार चम्लागाईं दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रेस यूनियनका कोषाध्यक्ष सरोज अधिकारी धादिंङबाट क्षेत्रीय प्रतिनिधि भएका छन् भने गोरखापत्रका निवर्तमान प्रबन्ध सम्पादक गोकर्ण अर्याल पनि धादिङबाट क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । 

यसैगरी, प्रेस युनियनकै केन्द्रीय सचिब रहेका नवलपुरका पत्रकार केबी राना नेपाली कांग्रेस नवलपुरको बौदिकाली गाउँपालिका सभापति निर्वाचित भएका छन् । पार्टीको पालिका सभापति बनेर राना कांग्रेसको सक्रिय राजनीतिमा अघि बढेका छन् । 

यस्तै, अन्तर्राष्ट्रिय पत्रकारको रूपमा स्थापित नागरिक टाइम्सका सम्पादक बिरेन्द्रकुमार मेहेता‚ वरिष्ठ पत्रकार इन्द्र रिजाल, पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष होमराज रानाभाट, पाल्पाका क्रियाशील पत्रकार जगदिश भट्टराई लगायतका  लगायतका पनि कांग्रेसको सक्रिय राजनीतिमा बामे सरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद