साढे ३ बजेबाट मतदान हुने
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको लागी भएको चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको चुनावले सभापति पदको टुगों नलाएपछि अर्को चरणमा चुनाव हुने भएको हो ।
जसअन्तर्गत दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत प्राप्त गरेका थिए ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको चुनावबाट बाहिरिएका छन् ।
सिंहको समर्थन देउवालाई
नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि समर्थन खोज्दै हिडेका शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका हुन् ।
पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उनकै निवास चाक्सीबारी पुगेका थिए । छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताएका हुन् ।
यससगैं नेता सिहंले देउवालाई समर्थन गर्ने भएपछि सभापति पदमा शेरबहादुर देउवाको बलियो सम्भावना देखिएको छ ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीका बीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।