कांग्रेसको चुनावी प्रतिज्ञापत्र मधेसबाट सार्वजनिक


खबरस्टोरी संवाददाता
६ फाल्गुन २०८२, बुधबार
कांग्रेसको चुनावी प्रतिज्ञापत्र मधेसबाट सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुन लागेको चुनावी प्रयोजनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । मधेस प्रदेशसको राजधानी जनकपुरमा बुधबार आयोजित कार्यक्रमबाट कांग्रेसले चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो । कांग्रेसले प्रतिज्ञापत्रमा ‘१० भिजन’ समेटेको छ ।

नेपाली काँग्रेसका  सभापति गगनकुमार थापाले घोषणापत्र सार्वजनिक गर्दै देशको राजनीतिक र विकासको शैली बदल्ने ‘प्रतिज्ञा’ गरेका छन् । मधेसलाई ‘अन्नको भण्डार र ज्ञानको पाठशाला’ को रूपमा पुनःस्थापित गर्ने संकल्पसहित थापाले अब काँग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने, बरु प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाए । उनले मधेससँगको सम्बन्धलाई राजनीतिक लाभ–हानीभन्दा माथि उठेर ‘बेटा र माटो’ को सम्बन्धका रूपमा व्याख्या गरे ।

थापाले मधेसी पहिचान र सम्मानको मुद्दालाई उठाउँदै आफू मधेसको नेता हुन नभई बेटा हुन आएको बताए । सो क्रममा उनले दुर्गानन्द झा र महेन्द्रनारायण निधिलाई सम्झिए । आफ्नो नसामा मधेसी आमाको रगत नभए पनि े छातीमा दुर्गानन्द झाको शाहस र आँखामा महेन्द्र नारायण निधिको सपना रहेको थापाले उल्लेख गरे । उनले अब सिंहदरबार छिर्दा मधेसीले आफ्नो धोती–कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेसी छी’ भन्नसक्ने वातावरण काँग्रेसले निर्माण गर्ने उद्घोष गरे । 

राजा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान रामले धनुष उठाएर गरेको विजयलाई स्मरण गर्दै थापाले काँग्रेसको आगामी यात्रा ‘प्रतिज्ञा’ मा आधारित हुने पनि बताए । 

आज आफूले बोलेको कुरा प्रतिज्ञा भएको भन्दै थापाल सरकारमा हुँदा होस् वा सडकमा, काँग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि नहट्न् बताए । २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर अध्ययन गरी यो प्रतिज्ञा तयार पारेका उनले जानकारी दिए । 

थापाले मधेसको खस्कँदो शैक्षिक स्तरप्रति पनि चिन्ता व्यक्त गरे ।  आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा ‘एक रुपैयाँ तिर्नु नपर्ने’ स्वास्थ्य बीमा प्रणालीको ग्यारेन्टी गरेको स्मरण गरे । तर उनले स्वास्थ्य बीमा कार्यक्रम असफल भएको चाँही बिर्सिए । कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिनको अन्त्य गर्ने उनले संकल्प गरेका छन् । 

मधेसका उखु र आलु किसानको समस्यालाई नजिकबाट नियालेको बताउँदै थापाले यस दशकलाई ‘किसानको दशक’ बनाउने पनि घोषणा गरेका छन् । साथै वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि सरकारले दुतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्कंदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने योजना उनले अघि सारे । कानून ठूलालाई चयन र सानालाई ऐन हुने विभेदकारी अध्यायको पूर्ण अन्त्य हुने उनको भनाई छ ।