Media Network

कांग्रेसको १४ औं महाधिवेशन : जिल्ला सभापतिका लागि कट्टेल र थेबे मैदानमा


खबरस्टोरी संवाददाता

३ मंसिर २०७८,शुक्रबार

झापा। राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको झापामा नेपाली कांग्रेसको सभापति पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा वर्तमान उपसभापति राम कट्टेल र पूर्वउपसभापति देउमान थेबेले जिल्ला सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेर कार्यकर्तासँग मत माग्न थालिसकेका छन् । दुवै उम्मेदवारलाई जिताउन केन्द्रीय नेता तथा स्थानीय कार्यकर्ता दुई खेमामा विभाजित भएका छन् भने अलगअलग प्रचार समिति गठन गरिएका छन् ।

झापामा पाँच निर्वाचन क्षेत्र, १० प्रदेश निर्वाचन क्षेत्र र १५ पालिका छन् । अहिलेदेखि नै गाउँ गाउँमा दुवै उम्मेदवारले समूह बनाएर आफ्ना नीति, कार्यक्रम र धारणा कार्यकर्तामाझ पुर्याउन थालिसकेका छन् । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा झापामा दुई खेमा बनेको बताइएको छ । सभापतिका उम्मेदवार राम कट्टेललाई प्रवक्ता शर्मा र देउमान थेबेलाई पूर्वमहामन्त्री सिटौलाको खुला समर्थन रहेको पार्टीका कार्यकर्ता बताउँछन् । पार्टीका जिल्ला सभापति उद्धव थापा, पूर्वसांसद सुधीरकुमार शिवाकोटी, केशवकुमार बुढाथोकी, प्रचार विभागका प्रमुख कृष्ण हुमागाई थेबेको पक्षमा मत माग्ने अभियानमा सहभागी छन्।

त्यसैगरी, सभापतिका अर्का उम्मेदवार राम कट्टेललाई जिताउन धुलाबारी क्याम्पसका प्रमुख एवं बौद्धिक व्यक्तित्व पुष्पराज पौडेलको संयोजकत्वमा राम कट्टेल जिताउ अभियान समिति गठन भएको छ । संविधानसभा सदस्य उषा गुरुङ, जिल्ला समितिका सचिवद्वय ताराबीर कटुवाल र प्रेम सम्बाहाम्फे, नेपाल शिक्षक महासङ्घका पूर्वजिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई, जिल्ला प्रवक्ता लोकराज ढकाललगायतका नेताहरु कट्टेलको पक्षमा खुलेर मत मागिरहेका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेसको नेतृत्वको बागडोर कसले लिन्छ भन्ने विषय राष्ट्रिय राजनीतिमा समेत चासोपूर्वक हेरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद