Media Network

कांग्रेसको ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशन ६ प्रदेशमा सम्पन्‍न भएका छन् । ती ६ प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।  प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा शनिबार प्रदेश कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । 

सोमबार बिहान लुम्बिनी र प्रदेश १ को नतिजा आएसँगै ६ प्रदेशले पहिलो पटक नयाँ कार्यसमिति पाएको हो । यसअघि आइतबार बागमती, गण्‍डकी, कर्णाली र सुदूरपश्‍चिमको नतिजा आएको थियो । ६ वटै प्रदेशमा संस्थापन र इतर समूहबीच प्रतिस्पर्धा भएको थियो । प्राप्‍त नतिजाअनुसार सुदूरपश्‍चिम, कर्णाली र बागमतीमा वर्तमान सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् । 

लुम्बिनी र गण्‍डकीमा नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा भने सिटौला पक्षका उम्मेदवार विजयी भएका छन् । 

प्रदेश १ 

कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् । सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८४४ मत पाउँदा घिमिरेले ८४२ मतमा चित्त बुझाए ।  

बागमती प्रदेश

कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षका बानियाँले १०८५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे । 

गण्डकी प्रदेश

नेपाली  कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी  भएका छन् । शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्व आफ्नो हातमा पारेका हुन्। 

 लुम्बिनी प्रदेश

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन् । सोमबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पुनले  सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । 

कर्णाली प्रदेश

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा  ललितजंग शाही विजयी भएका छन् । प्रदेश अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतदानबाट शाही ४२२ मत ल्याएर सभापितमा विजयी भएका हुन् ।  विजयी शाही सभापति शेरबहादुर देउवा पक्षका हुन् । 

सुदूरपश्चिम

नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर विजयी भएका छन् । प्रदेशमा कुल खसेको मत १००३ मध्ये बलायरले ६८८ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २८० मत्र मात्र ल्याएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद