Media Network

कांग्रेसको वेवसाइटमा ‘कम्युनिस्ट घोषणापत्र’ !


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीको गतिविधिहरु तथा दस्तावेजहरु संग्रहित गर्न वेवसाइट सञ्चालन गर्दै आएको छ । 

पार्टीको विधान, निमायवली, दस्तावेज, परिपत्रहरुको सारसंग्रहका साथै देशैभरका आफ्ना क्रियाशील पार्टी सदस्यहरुको नामसमेत कांग्रेसले आफ्नो वेवसाइटमा ब्यवस्थित गरेको छ । 

पार्टीको १४ औं महाधिवेशनका प्रतिनिधिहरुकासाथै केन्द्रीय निर्वाचन समिति र त्यससँग सम्बन्धित सन्दर्भ सामग्रीहरु पनि वेवसाइटमा राखिएका छन् । 

कांग्रेसले आफ्नो वेवसाइटमा दिवंगत पार्टी नेतृत्वहरु बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई आदर्श नेताका रुपमा राखेको छ । 

वीपीका कृतिहरु र कम्युनिस्ट घोषणापत्र 

पार्टीको परिचय, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यालयहरुको पूर्ण विवरणहरु उल्लेख गरिएको वेवसाइटमा अनलाइन लाइब्रेरीसमेत राखिएको छ । अनलाइन लाइब्रेरीमा बीपी कोइरालाका साहित्यिक कृतिहरु मात्र होइन, कम्युनिस्ट घोषणापत्र समेत संग्रहित गरिएको छ । 

माक्र्स र एंगेल्सद्वारा लिखित ६८ पृष्ठको कम्युनिस्ट घोषणापत्र नै पढ्न मिल्ने गरी पीडीएफ फाइल वेवसाइटमा संग्रहित गरिएको छ । सन् १८४८ मा दार्शनिक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्रमा १८७२ को जर्मन इडिसन, १८८२ को रसियत इडिसन, १८८८को इंग्लिस इडिसन तथा १९९३ को इटालियन इडिसनसमेत समेटिएको छ । 

कम्युनिस्ट पार्टीको वेवसाइट भेटिदैन कम्युनिस्ट घोषणापत्र

पूँजीवादी ब्यवस्थालाई अंगिकार गर्दै आएको नेपाली कांग्रेसले कम्युनिस्ट घोषणापत्रलाई संग्रहित गरिरहँदा नेपालका कम्युनिस्ट पार्टीको वेवसाइटहरुमा कम्युनिस्ट घोषणापत्र भेटिदैन ।  

नेकपा एमालेले आफ्नो वेवसाइटमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनादेखि दशौं महाधिवेशनबाट निर्वाचित कमिटीको नाम सुरक्षित गरेको छ भने डिजिटल पत्रिका अर्थात पार्टी मुखपत्रजस्तै गरी समाचारहरु उल्लेख गरिएका छन् । 

अझ कतिपय कम्युनिस्ट पार्टीले पार्टीको वेवसाइट समेत नबनाएर आफ्नो नाममा वेवसाइट बनाएर पार्टीको दस्तावेजका रुपमा राख्ने गरेका छन् । नेकपा माओवादी केन्द्रलेसमेत आफ्नो वेवसाइट बनाएको भेटिदैन भने अध्यक्ष प्रचण्डले सीएमप्रचण्ड डट कम चलाइरहेका छन् । पार्टीभित्रका विशेषगरी आफ्ना गतिविधिहरुलाई संग्रहित गर्ने उद्देश्यले प्रचण्डको वेवसाइट सञ्चालन भएको देखिन्छ । सामाजिक सञ्जालमा पनि आफ्नै नामको फेसबुक र ट्वीटर अकाउन्टबाट नै पार्टी गतिविधिहरु जानकारी दिने गरिएको छ । 

एमालेको वेवसाइटदेखि प्रचण्डको वेवसाइटमा पनि कम्युनिस्ट घोषणापत्र कहिँकतै भेटिदैन । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद