कांग्रेसमा देउवा भए सक्रिय, महाधिवेशनको अल्झन


खबरस्टोरी संवाददाता
९ पुष २०८२, बुधबार
कांग्रेसमा देउवा भए सक्रिय, महाधिवेशनको अल्झन

काठमाडौं । जेनजी आन्दोलनपछि सक्रिय राजनीतिबाट ओझेल परेका नेपाली काँग्रेसका सभापति देउवा ३ महिना नपुग्दै सक्रिय भएका छन् । 

सत्तामोहका कारण पुनः सक्रिय भएका देउवा मंगलबार राष्ट्रपतिसहितको छलफलमा भाग लिन शितल निवास समेत पुगेका थिए । आगामी फागुन २१ को निर्वाचन सफल बनाउने समझदारी गरेर शितल निवासबाट निस्किएका देउवाले पार्टीको महाधिवेशन पनि निर्वाचन पछाडि सार्ने तयारीमा छन् । 

पार्टीको क्रियाशिल सदस्य विवादका कारण जनाउँदै महाधिवेशन प्रभावित हुने भएपछि आगामी चुनावको टिकट बाँड्ने पनि देउवा नै हुने भएका छन् । 

महाधिवेशन तालिका परिमार्जन हेतु बुधबारदेखि शुरु भएको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा महाधिवेशन सार्नेबारे छलफल भएको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउने प्रश्ताव गरेका छन् । 

उनले पार्टीको १५ औँ महाधिवेशनेको कार्यतालिका बिथोल्न केही जिल्लामा बद्नियतका साथ क्रियाशीलको काम रोकिएको भन्दै त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाउनुपर्ने बताए । उनले समस्या समाधान नभएका क्षेत्रमा पुरानै क्रियाशीलताको आधारमा संगठनात्मक कार्य अगाडि बढाउनुपर्ने समेत बताए ।

उनले विवाद सिर्जना गरेर महाधिवेशनको कार्यतालिका बिथोल्ने जिल्लाहरुलाई महाधिवेशनमै सहभागि हुन नपाउनेसम्मको कारबाही गर्ने प्रश्ताव समेत आफूले राखेको बताएका छन् । वडा र क्षेत्रको महाधिवेशनको कार्यतालितामा आवश्यक संशोधन गर्न सकिने भएपनि केन्द्रिय महाधिवेशनको कार्यतालिका तलमाथि नहुने उनको दाबी छ । 

थापाले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएको भएपनि आफैं शक्ति अभ्यास गरिरहेकोप्रति आपत्ति समेत जनाएका छन् ।