काठमाडौं । आगामी फागुन २१ गते हुन लागे प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नम्बर ५ बाट यसपटक पनि प्रत्यक्ष प्रतिष्पर्धामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापामै मतदाता भेटघाटमा ब्यस्त छन् ।
यसअघिका निर्वाचनमा वारेसनामाबाट उम्मेदवार मनोनयन गरि जितिसकेपछि मात्रै झापा पुग्ने गरेका ओली यसपाली झापा ५ नम्बर क्षेत्रमै खुम्चिएका छन् । आफ्नो निर्वाचन क्षेत्र छाड्दा पराजित हुने डरका कारण ओली मतदाताको घरदैलोमै रहेका छन् ।
ओलीलाई च्यालेन्ज दिँदै काठमाडौंको मेयर छाडेर प्रतिष्पर्धामा आएका बालेन्द्र साह भने केही दिन झापा हुँदै पूर्वी क्षेत्रको भ्रमण सकेर सुदूरपश्चिम पुगिसक्दा ओली भने आफ्नो निर्वाचन क्षेत्रको घरदैलोमै छन् ।
घरदैलोमा रहेका ओलीले आफैलाई भोट दिँदै आएका मतदाताहरुले समेत उठाएका प्रश्नहरुको जवाफ दिँदै हिड्नुपरेको छ । ओलीलाई मतदाताहरुले जेनजी आन्दोलनबारे उठाएका प्रश्नहरुको पनि उत्तर दिँदैमा हैरान छ । उनले आफ्नो मतदाताहरुलाई एमालेलाई सिध्याउन देशमै आगो लगाएको टिप्पणी गरेका छन् । एमालेको जतिसुकै विरोध गरे पनि पहिलो दल बन्ने उनले दाबी गरिरहेका छन् ।
एमालेले बहुमतै नल्याए पनि कम्तीमा पहिलो पार्टी बन्नेमा ढुक्क रहन ओलीले नेता कार्यकर्ता र मतदातासँग आग्रह गरेका छन् । ‘आगजनी गर्नु, अरूको सम्पत्ति आगजनी गर्नु, सार्वजनिक सम्पत्ति, राज्यको सम्पत्ति आगजनी गर्नु, तोडफोड गर्नु, लुटपाट गर्नु, नेपाली हुँ भन्ने मान्छेलाई सरम हुनुपर्दछ,’– ओलीले मंगलबार मतदाताहरुसँगको भेटघाटका क्रममा भने ।
नेपाली गरि खाने जाति र लुटेर नखाने जाति भन्दै उनले आगो लगाउँदै कुद्ने जाति नेपाली नभएको उनको भनाई छ । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जलाएर क्रान्ति नहुने भन्दै जलाउनेहरु आतंककारी भएको ओलीले आरोप लगाएका छन् ।