Media Network

कर्णालीमा एमालेले एकमना सरकार बनाउन थाल्यो गृहकार्य


khabarstory

१५ चैत्र २०७७,आईतवार

कर्णाली प्रदेशमा नेकपा (एमाले)ले एकल सरकार बनाउने तयारी थालेको छ । माधव नेपाल समूहले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

गत ४ चैतमा कर्णालीमा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन नेकपा (एमाले) ओली समूहले फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि एमालेभित्रैकै नेपाल समूहले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्युँताएका कारणले एमालेले अब माओवादी केन्द्रका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको एमाले माधव समूहका प्रदेशसभा सदस्य सुशीलकुमार थापाले बताए ।

‘अदालतले पूर्ववत् पार्टीमा नै फर्काएका कारणले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने तयारी थालिएको छ,’ उनले भने, ‘यसको प्रक्रियागत कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ ।’

कर्णाली प्रदेशमा ४० मध्ये २० सिट जितेको नेकपा एमाले शाही नेतृत्वको सरकार ढाल्न एमालेको एकमना सरकार बनाउन तयारी भइरहेको एमालेका एक सांसदले बताए ।

‘एकमना सरकार बनाउनका लागि ओली पक्षका यमलाल कँडेल र नेपाल समूहका हालका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासँग दुई पटक भेट भइसकेको छ,’ उनले भने, ‘कँडेलले ४ गते प्रदेश प्रमुखसमक्ष पेस गरिएको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा छलफल भएको छ । चाँडै नै नेपाल समूहले त्यसमा समर्थन गर्ने र एकल सरकार बनाउने तयारी थालिएको छ ।’

एकल सरकार बनाउनका लागि अहिले एमालेका दुवै पक्षबीच घनीभूत छलफल भइरहेको एमालेका एक सांसदले बताए । ‘पार्टी एक बनाउनेमा कुनै दुई मत छैन्,’ उनले भने, ‘त्यसको तयारीका रूपमा नेताहरू बैठक तथा भेटघाट चलिरहेका छन् ।’

कर्णाली प्रदेशमा एमाले संसदीय दलमा २० जना सांसद छन् । २० जनामध्ये सभामुख राजबहादुर शाहीबाहेक १९ जना एमालेका सांसद छन् । उनीहरूमध्ये ओली पक्षमा १० र नेपाल पक्षमा नौ जना बाँडिएका थिए । यी दुवै पक्ष मिल्दा १९ जना पुग्नेछन् ।

RITZ

Shikhar Insurance

एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई कारबाही गरेमा माओवादी केन्द्रका १३ जनामध्ये १२ जना सांसद रहनेछन् । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका छ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद छन् ।

माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई पार्टीले सांसद पदबाट हटाएमा एमालेको एकमना सरकार बनाउने तयारी थालेको छ ।

एमालेको समर्थनमा सरकार बनेको र एमाले समर्थन फिर्ता लिए सरकार छाड्ने तयारी माओवादी केन्द्रले गरेको छ । माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सदस्य तथा एक बहालवाला मन्त्रीले एमालेको समर्थनमा सरकार बनेको र एमाले समर्थन फिर्ता लिए सरकार छाड्नुको बाध्यताबाहेक अरु विकल्प नरहेको बताए ।

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७, १७:०३:००

Share:
Reaction :
ताजा समाचार
खेलकुद