झण्डै डेढ महिनाअघि एमालेले रिटर्नी फेडेरेशन नेपाल नामको जनवर्गीय संगठन घोषणा गरेको हो । एमालेको युवा, विद्यार्थी, मजदुर, महिला लगायतका विभिन्न जनवर्गीय संगठनहरु सक्रिय भइरहँदा निर्वाचनको मुखमा २२ औं जनवर्गीय संगठनका रुपमा रिटर्नी फेडेरेशन नेपाल नामको संगठन घोषणा गरिएको छ ।
रिटर्नी फेडेरेशन खासगरी विदेशबाट फर्किएका युवाहरुलाई पार्टीमा समेट्नका लागि बनाएको संगठन हो । विहीबार मात्रै एमाले केन्द्रीय समिति बैठकले सूर्य पाठकलाई यो संगठनको इन्चार्ज चयन गरेको छ । फेडेरेशनका अध्यक्ष भने चन्द्रबहादुर रोकाहा छन् ।
फेडेरेशन बन्नुअघि ‘एनजीओ’बाट सक्रिय
वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सक्रियतामा तीन वर्षअघि रिटर्नी माइग्रेन्ट नेपाल गैरसरकारी संस्थाका रुपमा दर्ता भएको थियो ।
वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई गाउँमै पुनःस्थापित गर्न भन्दै एनजीओ स्थापना गरियो । संस्थाले पोखरामा राष्ट्रिय सम्मेलन गरी उत्तम अधिकारीलाई अध्यक्ष बनायो ।
संस्थाले पाँच प्रदेश र ४० वटा जिल्लामा शाखा स्थापना गरी क्रियाशील भएको संस्थाका प्रवक्तासमेत रहेका उपमहासचिव जेपी सापकोटाले बताए ।
रिटर्नी माइग्रेन्टकै सक्रियतामा विदेशबाट फर्किएका युवाहरुलाई आर्थिक उपार्जनसँग जोड्ने उद्देश्यले विभिन्न कम्पनीहरु समेत स्थापना गरिएका छन् ।
विदेशबाट फर्किएका युवाहरुलाई उद्यमसँग जोडेर आर्थिक विकासको बाटो समाएको यो संस्थाका संस्थापकहरु भने अधिकांश नेकपा एमालेका अगुवा कार्यकर्ताहरु छन् । एनजीओकै प्लेटफर्मबाट उनीहरुले बेलाबेलामा राजनीतिक गतिविधिहरु पनि गर्दै आएका छन् ।
तर रिटर्नी माइग्रेन्ट एउटा छुट्टै एनजीओ भएकाले यसमा सबै पार्टीका ब्यक्तिहरु रहेको सापकोटा दाबी गर्छन् ।
कृषि तथा पशुपालन कम्पनी स्थापना
रिटर्नी माइग्रेन्टकै सक्रियतामा ‘रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेड’ पनि स्थापना गरिएको छ ।
यो कम्पनीले हालै नवलपरासीपूर्व कावासोती नगरपालिका १४ अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमताको नवलपुर चिस्यान केन्द्र स्थापना गर्न लागिएको छ ।
रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र नारायण थनेतकाअनुसार झण्डै २१ करोडको लागतमा स्थापना गर्न लागिएको चिस्यान केन्द्रमा नेपाल सरकारको ७० प्रतिशत र कम्पनीका शेयर सदस्यहरुको ३० प्रतिशत रहनेछ ।
कम्पनीले सञ्चालक शेयर, प्रमोटर शेयर र साधारण शेयर वर्गीकरण गरी लगानी आह्वान गरिरहेको छ । १० लाखदेखि ३० लाखसम्म लगानी गर्नेलाई सञ्चालक शेयर, १ लाख १० हजारदेखि ८ लाखसम्म लगानी गर्नेलाई प्रमोटर शेयर र १० हजारदेखि १ लाखसम्म लगानी गर्नेलाई साधारण शेयरका रुपमा वर्गीकरण गरी रकम जुटाइरहेको यो कम्पनीलाई आर्थिक वर्ष ०७६÷७७ मा सरकारले उक्त चिस्यान केन्द्रका लागि १ करोड ७५ लाख स्वीकृत गरी प्रदान गरेको थियो ।
झण्डै १८ कठ्ठा जग्गा लिजमा लिएर स्थापना गर्न लागिएको चिस्यान केन्द्रको एमाले संघीय सांसद तिलबहादुर (तिलक) महत क्षेत्रीले २०७६ माघ ४ गते शिलान्यास गरेका थिए ।
रिटर्नीका नाममा गाउँबाट समेट्दै
नेकपा एमालेले यहि रिटर्नीमा क्रियाशिल सदस्यहरुलाई रिटर्नीका नामबाट गाउँ गाउँमा समेट्न शुरु गरेको छ । निर्वाचनको मुखमा यसको संगठन विस्तारको कामलाई तीब्र बनाएको छ ।
विदेशबाट फर्किएका युवाहरुलाई समेट्न एमालेले रिटर्नी फेडेरेशन नेपाल नामको जनवर्गीय संगठनबाट पालिकास्तरीय भेला गरिरहेको छ । ‘रिटर्नीको ज्ञान, सिप, पूँजी र जाँगरः समृद्ध नेपाल निर्माणको दिगो आधार’ भन्ने नाराका साथ फेडेरेशनबाट विदेशबाट फर्किएका युवाहरुलाई जोड्ने प्रयास एमालेले थालेको छ ।