युक्रेनले अमेरिकाको साथ लिएर अहिलेसम्म रुससँग प्रतिवाद गरिरहेको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी कांग्रेसदेखि संयुक्त राष्ट्रसंघमा समेत सम्बोधन गरिसकेका छन् ।
रुसले यो युद्धलाई युक्रेनसँगको युद्ध नभई अमेरिकासँगको युद्ध भनिरहेको छ । युक्रेनका विभिन्न सहरहरुमा रुसले आक्रमण गर्न शुरु गरेको विहीबार १४ दिन पुगेको छ ।
युक्रेन–रुस युद्ध शुरु भएपछि अधिकांश देशहरुले युक्रेनको पक्षमा उभिएका छन् । राष्ट्रसंघ महासभामा नेपालको दुई छिमेकी देश चीन र भारत भने तटस्थ उभियो । नेटोमा आवद्ध भारतसमेत यो मामिलामा तटस्थ नै देखियो । तर नेपालले भने छिटो भन्दा छिटो युक्रेनको पक्षमा मतदान गर्दै आफू रुसको विपक्षमा रहेको जनाउ दियो । यो नेपालको असंलग्न परराष्ट्र नीति विपरित हो । नेपालले युद्ध नगर्न आग्रह गर्न सक्ने भए पनि पक्षधरता लिन मिल्दैन ।
यता, काठमाडौंमा रहेको अमेरिकी दूतावासले पनि यस्तै चरित्र देखाएको छ । काठमाडौंको महाराजगञ्जस्थित दूतावासको मुल गेटमै ‘हामी युक्रेनको साथमा छौं’ लेखिएको ठूलो होडिङ बोर्ड टाँगिएको छ ।
दूतावास आउने जुनसुकै सेवाग्राहीले सजिलै देख्न मिल्ने गरी यस्तो बोर्ड राखिँदा पनि कुनै राजनीतिक दलहरु चुइँक्क बोलेका छैनन् ।
रुस–युक्रेन युद्ध शुरु भएदेखि नै काठमाडौंस्थित अमेरिकी दूतावासमा यति ठूला अक्षरमा युक्रेनको पक्षमा रहेको लेखेर टाँगिदा सरकार नाजवाफ देखिएको छ ।