काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नेपालको परराष्ट्र नीति लम्पसार परेर गएको बताएका छन् । शुक्रबार काठमाडौंको खुलामञ्चमा आयोजना गरेको आमसभामा बोल्दै उनले परराष्ट नीतिलाई खेलाँची गर्दा आज युरोपमा लडाइँ भइरहेको दाबी गरे । ‘परराष्ट नीतिलाई खेलाँची गर्दा आज युरोपमा लडाइँ भइरहेको ख्याल गर्नुस्,’ उनले भने, ‘परराष्ट्र नीतिलाई खेलाँची गर्दा कुटनीति विग्रिन्छ, अर्थनीतिलाई खेलाँची गर्दा अर्थतन्त्र बिग्रिन्छ ।’
लोहनीले आफूलाई गणतन्त्रवादी भन्ने नव सामन्तवादमा पतन भएको आरोप लगाए । उनले अहिले शान्तिपूर्ण क्रान्तिको अवस्था भएको उल्लेख गरे ।
राप्रपा नेता लोहनीले नक्कली अग्रगमनमा नाममा नवसामन्तवादीहरुको जमातलाई आफूहरुले हटाएर देखाउन चाहेको बताए । संविधान भित्रको राजसंस्था नेपाललाई जोड्ने शक्तिका रुपमा कायम गर्नुपर्छ भन्ने आफूहरुको मान्यता भएको पनि उनले उल्लेख गरे ।