राजाको प्रत्यक्ष शासनको अन्त्य भएको दिन वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाइदै आएको छ । दिवसको अवसरमा भने सरकारले हरेक वर्ष सार्वजनिक विदा दिँदै आएको छ ।
जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।
देशलाई समृद्धिको बाटोमा हिडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते नेपालको संविधान(२०७२) जारी भयो ।
२०४६ सालपछि संबैधानिक राजतन्त्रको स्थापना भएतापनि राजसंस्थाको वर्चस्व विभिन्न प्रकारमा शाषन पद्धतिमा रहिनै रहेको थियो । देशको शासन पद्धतिमा मुख्य पदमा रहनका लागि राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज जो कोही नेपाली पनि राष्ट्रपती बन्न सक्ने भएका छन् ।