काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।
बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको बताएका हुन् ।
आयोगले बयानका लागि शुक्रबार उपस्थित हुन पत्राचार गरेको भन्दै उनले आफू भने सोमबार आयोगको कार्यालयमा पुगेर बयान दिने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको दमनका बारेमा बयान दिन जाँचबुझ आयोगले लेखकलाई पत्राचार गरेको थियो । पार्टी केन्द्रीय समिति बैठकमा परामर्शपछि लेखक बयानका लागि तयार भएका हुन् ।
आयोगले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानमा बोलाउने तयारी गरेको छ । तर ओलीले भने बयान दिन नजाने चेतावनी दिँदै आएका छन् ।
लेखकले बयान दिन जाने भएपछि ओलीलाई पनि दबाब पर्नेछ । यद्यपि आयोगले अहिलेसम्म लेखकलाई बयानका लागि औपचारिक रुपमा बोलाएको छैन ।