Media Network

लामो अल्झनपछि मन्त्रिपरिषद् विस्तार गरिँदै 


खबरस्टोरी संवाददाता

२२ आश्विन २०७८,शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत असार २९ गते पाँचौ पटक प्रधानमन्त्रीका रुपमा सपथ लिएका थिए । कहिले सबैभन्दा ठूलो अर्थात जम्बो मन्त्रिपरिषद् बनाएर त कहिले संसद विघटन गराएर चर्चामा आए  । 


हाँसोका पात्र बनेका आलेलाई पर्यटनमन्त्री !


पछिल्लो पटकको अर्थात संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनबाट निर्वाचित केपी शर्मा ओलीको विस्थापनपछि देउवाले पाँचौ पटक प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीचको आन्तरिक द्वन्द्वपछि सर्वोच्च अदालतले नेकपालाई नै मान्यता नदिएपछि नेकपा किचलोकै कारण प्रधानमन्त्रीको चिठ्ठा परेका देउवाले पछिल्लो पटक झण्डै तीन महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् । 

आफ्नै पार्टीका मन्त्री नै विवादमा 

एमाले विभाजनपछि पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले प्रधानमन्त्रीबाहेक १६ वटा मन्त्रालयको जिम्मेवारी लिइरहेका छन् । पाँच दलीय गठबन्धनको सरकार बने पनि देउवाले काग्रेस र माओवादी केन्द्रबाट मात्रै ६ मन्त्री र एक राज्यमन्त्री बनाएका छन् । 

देउवाले बनाएका एक राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि स्वास्थ्य राज्यमन्त्री बनाएपछि आलोचित बने । पछिल्लो पटक आफ्नै पार्टीका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि कांग्रेसकै रामचन्द्र पौडेल समूह असन्तुष्ट बन्यो । खड्काको मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन छ ।  

आफ्नै पार्टीभित्रका गुट उपगुट र गठबन्धन दलहरुबीचको भागबण्डा विवादमै दुई महिना २२ दिन बिताएका देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने दिन घटस्थापना रोजेका थिए । तर त्यो दिन सफल नभएपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी छ ।  

को को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको थिए । 

गठबन्धनदलहरुबीचको सहमतिअनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चार÷चार मन्त्रालय पाउने भएका छन् ।

यसअघि कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँड, कानून तथा संघीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मन्त्री बनाएका छन् भने माओवादी केन्द्रबाट पम्फा भुसाललाई ऊर्जा र जनार्दन शर्मालाई अर्थमन्त्री बनाइसकिएको छ । 

कांग्रेसले प्रधानमन्त्रीसहित गृह, परराष्ट्रसहित रक्षा, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । 
गठबन्धनको अर्को दल माओवादी केन्द्रले अर्थ र ऊर्जासहित शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउने निश्चित भएको छ । 

यस्तै, उपेन्द्र यादव नेतृत्वको जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।

गठबन्धनकै अर्को दल एमालेबाट विभाजित भएका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले स्वाथ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डेयन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ । 

आलेले उठाए फुटको फाइदा उठाए 

नेकपा एमाले आन्तरिक संघर्षमै रहेकाबेला केपी ओली पक्षबाट वन मन्त्री बनेका प्रेमबहादुर आलेले एमाले फुटको फाइदा उठाउनेमा एक नम्बरमा परेका छन् । 

उनी गुट बदलेर माधव नेपाल समूहतिर आएपछि फेरि पनि मन्त्रीके चिठ्ठा परेको छ । स्रोतकाअनुसार मन्त्री पाउने आश्वासनमै गुट बदलेर नेपालतिर आएका हुन् । 

अझ रमाइलो त के छ भने ओली सरकारका बनमन्त्री आले मन्त्री चितवनमा गैंडा गणना कार्यक्रमको उद्घाटन गर्ने क्रममा बोलेको शब्द हाँसोको पात्र बनेका थिए । 

कार्वनडाई अक्साइड र अक्सिजनबारे ज्ञान नभएको कुरा बोल्दा उनी चिप्लिएका थिए । उनको उक्त वाणी सामाजिक सञ्जालभरी नै भाइरल बन्यो । 

अर्को भाग्यमानी रामकुमारी झाँक्री

नेपाल पक्षकी युवा नेतृ रामकुमारी झाँक्री पनि अर्को भाग्यमानी ठहरिएकी छन् । 
झाँक्री भन्दा माथिको बरियताका घनश्याम भुसाल, भीम रावल लगायतका नेताहरु पार्टी विभाजनको अन्तिम समयमा ओलीतिरै लागेपछि पार्टी सचिव मात्र भइनन्, मन्त्रीसमेत बन्न पाउने भएकी छन् । झाँक्रीलाई स्वास्थ्यमन्त्री बनाउने एकीकृत समाजवादीले निर्णय गरिसकेको छ । 
यस्तै, नेकपा एसले विरोध खतिवडालाई शहरी विकास मन्त्री, प्रेमबहादुर आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृष्णकुमार (किसान) श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने निर्णय गरेको छ ।
शुक्रबार अपरान्ह ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद